तिंकर जाेड्ने महाकाली करिडोरले कञ्चनपुरको विकासमा टेवा हुन्छ : कांग्रेस नेता लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरदेखि दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर निर्माणले कञ्चनपुरको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।

कञ्चनपुरको ब्रह्मदेवबाट पहिलो पटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रुपमा लिनुपर्ने बताए ।


उनले भने, “साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफुल र उत्पादन खपत गर्न सहज हुन्छ । याे नाका त्रिदेशीय नाकासंगै आर्थिक नाका रुपमा विकास गर्न सकिन्छ ।”

पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथदेखि परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुराम धामसित जोडेर विकास गर्नुपर्नेमा लेखकले बताए ।


“करिडोर अन्र्तगत रुख कटानको समस्या चार वटै जिल्लामा हल भएर निर्माण अघि बढेको छ”, उनले भने, “करिडोरको ट्रयाक हुदै यो पाली डडेल्धुरा आयौं अर्को पाली बैतडीसम्म पुग्ने योजना छ ।”


लेखकले भारतको पूर्णागिरी दर्शनका लागि आउने भारतीय भक्तजनहरूलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुराम धामसम्म पुराउने गरी लाग्नुपर्ने बताएका छन् ।

महाकाली करिडोरको ट्रयाक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुराम धाम जानेको चहलपहल समेत बढेको छ ।


कांग्रेस नेता लेखकले करिडोरका लागि आवश्यक बजेट सरकारले प्रवन्ध गर्ने बताउँदै दोधारा चादँनी सुख्खा बन्दरगाहसित करिडोर जोडेर आर्थिक नाका रुपमा समेत विकास गरिने बताएका छन् ।


कञ्चनपुरदेखि दार्चुलाको उत्तरीनाकासम्म जोड्ने महाकाली करिडोर अन्तर्गत लामाे समयपछि कञ्चनपुर– डडेल्धुराको यात्रा करिडोरकै कारण सहज हुनुका साथै यात्रुहरूलाई समयको पनि बचत भएकाे छ ।


ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिंकर भन्ज्याङ्ग् सम्म ४१३ किलोमिटर सडक करिडोर अन्र्तगत तेह्र बर्षदेखि निर्माणाधीन छ ।


पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोर अन्र्तगत ब्रह्मदेवदेखि १५ किलोमिटरसम्म( जोगबुढा) ट्रयाक खुलेको हो ।


करिडोर अन्तर्गत ३३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्रयाक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ ।


करिडोर अनुगमनमा सोमबार नेता लेखकसंगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, पूर्व आर्थिक मामिला मन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावल, प्रदेशसभा सदस्यहरू बेलबहादुर राना, ओमप्रकाश भाट, मधुदेवी भारती, कञ्चनपुर जिल्ला समन्वय समितिका संयोजक दुर्गादत्त बोहरा र भीमदत्त र परशुराम नगरपालिकाका नगरप्रमुख लगायतको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2024 January 16, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया