देउवा, दाहालसहित सात शीर्ष नेताहरूद्वारा साझा उम्मेदवारहरूलाई विजयी बनाउन अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले गठनका साझा उम्मेदवारहरूलाई मतदान गरी अत्याधिक मतले विजयी बनाउन अपील गरेका छन् ।

आइतबार सभापति देउवा, प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका सात शीर्ष नेताहरूले संयुक्त अपील जारी गरेर सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका हुन् ।

अपीलमा भनिएको छ, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिनन गतिविधि हुन सक्दछन् ।’

‘यो निर्वाचनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो’, अपीलमा भनिएको छ, ‘गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ । हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्याधिक मतले विजयी गराउन हार्दिक अपील गर्दछौँ ।’

गठन्धनका साझा उम्मेदवारहरूमा कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस), चम्फादेवी कार्की (माओवादी केन्द्र), आनन्दप्रसाद ढुंगाना (कांग्रेस), पूजा चौधरी (जनता समाजवादी पार्टी नेपाल), विष्णुदवी पुडासैनी (कांग्रेस), जीतजंग बस्नेत (कांग्रेस), श्रीकृष्णप्रसाद अधिकारी (माओवादी केन्द्र), घनश्याम रिजाल (एकीकृत समाजवादी) रहेका छन् ।

मनरुपा शर्मा (माओवादी केन्द्र), किरणबाबु श्रेष्ठ (कांग्रेस), पदमबहादुर परियार (कांग्रेस), विष्णुकुमारी सापकोटा (कांग्रेस), झक्कुप्रसाद सुवेदी (माओवादी केन्द्र), कृष्णबहादुर रोकाया (कांग्रेस), सावित्री मल्ल (एकीकृत समाजवादी), विष्णुबहादुर विश्वकर्मा (माओवादी केन्द्र), रेणु चन्द (माओवादी केन्द्र), बलदेव बोहरा (कांग्रेस) र नारायणदत्त भट्ट (कांग्रेस) रहेका छन् ।

संयुक्त अपील जारी गर्नेमा कांग्रेस सभापति देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टी नेपालकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुरी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहेका छन् ।

Published : Sunday, 2024 January 14, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया