शीर्ष नेताहरूले सत्ता गठबन्धनका राष्ट्रिय सभाका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपील गर्ने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० ले गठबन्धनका दलका शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गरेको छ ।

शनिबार काठमाडौंमा बसेको समितिको बैठकले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्री), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेताहरूलाई गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न अनुरोध गरेर वक्तव्य जारी गर्न आग्रह गरेको हो ।

बैठकमा सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति–२०८० का संयोजक रमेश लेखक, सदस्यहरू माओवादीका वर्षमान पुन, जसपाका मनीष सुमन, नेकपा (एकीकृत समाजवादी) विजय पौडेल र जसपाका गोविन्द चौधरीको उपस्थिति रहेको थियो ।

बैठकले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति– २०८० को सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गरेको छ ।

समितिका सचिव जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदाताहरूसँग गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताज्यूहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय भएको छ ।’

समितिले भनेको छ, ‘राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति– २०८० ले गठबन्धन उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने ।’

समितिको २५ गतेको निर्णय अनुसार सात वटै प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति– २०८० गठन भएको विवरण र जिल्लाहरूमा पनि समिति गठन भइरहेको विषयमा पनि छलफल भएको छ ।

Published : Saturday, 2024 January 13, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया