बागमतीमा प्रदेश निर्वाचन समन्वय समिति गठन

काठमाडौं । बागमती प्रदेशमा सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि बागमती प्रदेश निर्वाचन समन्वय समिति गठन गरेको छ ।

बिहीबार सम्पन्न सत्ता गठबन्धन दलहरूको प्रदेशस्तरको बैठकले आगामी माघ ११ म हुने राष्ट्रियसभा निर्वाचन केन्द्रीय निर्वाचन समन्वय समिति २०५० को बैठकको निर्णयअनुसार ‘बागमती प्रदेश निर्वाचन समन्वय समिति २०८०’ गठन गर्ने निर्णय गरेको हो ।

गठबन्धनका तीन दलका प्रदेशका सभापति र अध्यक्षहरू, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, नगरपालिका महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष, गाउँपालिका महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष, तीनै दलका प्रदेश पदाधिकारीहरू र गठबन्धनबाट राष्ट्रियसभा सदस्यका चारैजना उम्मेदवारहरुको उपस्थितिमा काठमाडौँमा सम्पन्न बैठकले समन्वय समिति गठन गरि उम्मेदवारलाई विजयी बनाउन भूमिका खेल्ने निर्णय गरेको छ ।

बैठकले एकीकृत रुपमा चुनावी गतिविधि समन्वय गर्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश अध्यक्ष सावित्री भुसाल रहेको समिति गठन गरेको छ ।

बागमती प्रदेशसभा सदस्यहरूसँग चुनावी समन्वय गर्न नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता एवम् बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनाल रहेको समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले प्रदेश भित्रका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट विजयी प्रमुख र उपप्रमुखहरूसँगको समन्वय नगरपालिका महासंघ नेपाल, बागमती प्रदेशका अध्यक्ष उपेन्द्र कार्कीले गर्ने, प्रदेश भित्रका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षहरूसँगको समन्वय गाउँपालिका महासंघ नेपाल, बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर थापा मगरले गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा निर्वाचन केन्द्रीय निर्वाचन समन्वय समिति २०८० को बैठकको निर्णय र निर्देशानुसार प्रदेशका १३ वटै जिल्लामा सत्ता गठबन्धन दलका अध्यक्ष र सभापतिहरूलाई अविलम्ब राष्ट्रियसभा निर्वाचन जिल्ला निर्वाचन समन्वय समिति २०८० गठन गरी सोको जानकारी प्रदेश समन्वय समितिमा पठाउन बैठकले आग्रह गरेको छ ।

बैठकले माघ ६ गते शनिवार काठमाडौंमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरू र मतदाताहरूबीच भेटघाटको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

Published : Thursday, 2024 January 11, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया