पृथ्वीनारायण शाहका नीतिहरु सान्दर्भिक छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार सभापति देउवाले विज्ञप्ति जारी गरेर राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिएका हुन् । उनले राजा पृथ्वीनारायण शाहको स्मरण पनि गरेका छन् ।

उनले भने, ‘आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उहाँको ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।’

‘यो अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै त्यो कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु’, सभापति देउवाले भने ।

उनले भने, ‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।’

‘३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्दै यस अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Thursday, 2024 January 11, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया