प्रहरीका पूर्वडीआईजी भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ ।

बुधबार विशेष अदालतले भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो ।

शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपियाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई जनही तीन वर्ष कैद सजाय सुनाएको छ ।

पुस ११ गते विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । शाहसहित प्रहरीका पूर्वसई पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा तलब भत्ता प्रकरणमा दोषी ठहर गरेको थियो ।

अख्तियारले २० फागुन २०७६ मा यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो । यो मुद्दाका आरोपित प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशंखेले भने सफाइ पाएका थिए ।

भ्रष्टाचारी ठहरिएका नेपाल प्रहरीका पूर्वडीआईजी शाह मदन पुरस्कार विजेता साहित्यकार हुन् ।

Published : Wednesday, 2024 January 10, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया