कांग्रेससहितका दलद्वारा कति सिटमा दाबी ? एमालेपछि टिकटमा भीख माग्न राप्रपा आयो

काठमाडौं । एमालेले ‘भिख’ मागेको राष्ट्रिय सभाको निर्वाचनमा टिकट सत्ता गठबन्धनले नदिएर आफै बाँड्न गृहकार्य सुरु गरेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्यामा माग दाबी गरेका छन् ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १३ सिटमा दाबी गरेको छ ।

माओवादी केन्द्रले ७, जसपा र नेकपा (एकीकृत समाजवादी)ले ४–४ सिटमा दाबी गरेको स्रोतले जनाएको छ । दलहरूले धेरै सिटमा दाबी गरेपछि आइतबार पुन: बैठक बस्नेछ ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

कांग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरूको मतभार आदिका आधारमा सिट संख्या तय हुने बताएका छन् ।

यसअघि, सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा (एमाले)सँग सहकार्य नगर्ने निर्णय गरेका थिए ।

सत्ता गठबन्धनले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेको नेता लेखकले बताएका छन् ।

उता, राप्रपाले पनि सत्ता गठबन्धनसँग वार्ता गरेर राष्ट्रियसभा निर्वाचनमा टिकट माग गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारमा सत्ता गठबन्धनलाई असहयोग गरेर हैरान बनाएको राप्रपाले सत्ता गठबन्धनसँग राष्ट्रियसभाका लागि भाग माग्ने भएको छ । भाग माग्न राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएको छ ।

Published : Saturday, 2024 January 6, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया