सर्लाही घटनाप्रति कांग्रेसले बोल्यो

काठमाडौं । नेपाली कांग्रेसले सर्लाही जिल्लामा एक जनाको ज्यान जाने गरेर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार कांग्रेसले विज्ञप्ति जारी गरेर सर्लाहीको बरहथवामा भएको घटनामा दु:ख व्यक्त गरेको छ ।

कांग्रेसले भनेको छ, ‘सर्लाहीको बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको, केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न परिस्थितिको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ ।’

‘नेपाली कांग्रेस उक्त घटनाप्रति दु:ख व्यक्त गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘मृतकप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’, कांग्रेसले भनेको छ, ‘शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’

‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपील गर्दछ’, कांग्रेसले भनेको छ ।

शुक्रबार सर्लाहीको घटनामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

Published : Saturday, 2024 January 6, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया