प्रधानमन्त्री दाहालको अभिव्यक्तिले एमालेभित्र निराशा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरिएको बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकाको नयाँ भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमालेलाई उदारता प्रदर्शन गर्दा सत्ता गठबन्धनमा आँच आउन नदिइने बताएका हुन् ।

‘यो गठबन्धन पूरै अवधि जान्छ । यसमा कतै इफ, बट नसोँच्नुहोला’, दाहालले भने, ‘कुनै आशंका गर्न जरूरी छैन ।’

सदन सुचारू गर्न र शान्ति प्रक्रियाका बाँकी काम सहज रूपले अघि बढाउन सत्तापक्ष र प्रतिपक्षका बीचमा हुन सक्ने जति समझदारी होस् भनेर चाहेको दाहालले बताएका छन् ।

उनले भने, ‘केही महिनाअघि संघीय संसदमा समिति गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो ।’

प्रधानमन्त्री दाहालले भने, ‘प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समिति सभापति दिने परम्परा थियो । लेखा समिति । जो प्रतिपक्षमा हुन्छ त्यसले लेखा समिति सभापति हुन्छ ।’

‘हामीले सदन सुचारू गर्न सजिलो होस् र विधेयक अघि बढाउन सहज होस् भन्नाका लागि यो पटक लेखासहित तीन समिति सभापति नेकपा (एमाले) लाई दियौं’, उनले भने ।

उनले यस्ता निर्णयले गठबन्धनमा कुनै आँच नआउने पनि बताएका छन् । दाहालले भने, ‘कहीँ कतै के होला भनेर सोच्न आवश्यक छैन। यो गठबन्धन सानो दु:ख र संघर्षले बनेको गठबन्धन होइन ।’

उनले भने, ‘संविधान रक्षाका लागि सदन र सडक सबै क्षेत्रबाट संघर्ष गर्दै हामी आएको हो ।’

प्रधानमन्त्री दाहालको पछिल्लो भनाइले एमालेलाई झट्का लागेको छ । एमालेले माओवादी केन्द्र र नेपाली कांग्रेससँग राष्ट्रियसभामा भाग माग गरेको छ । एमालेले भाग मागेपछि सत्ता गठबन्धनभित्र विरोध भइरहेको छ । कतिपय नेताहरूले एमालेले सत्ता गठबन्धनसँग राष्ट्रियसभामा टिकटका लागि भिख माग गरेको टिप्पणी गरेका छन् ।

Published : Thursday, 2024 January 4, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया