नेपाल–भारतबीच के–के कुरामा सम्झौता ? नेपाललाई फाइदै फाइदा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा चारवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधबार काठमाडौंमा भएको बैठकमा नेपाल र भारतका विदेश मन्त्रिस्तरीय द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको छ ।

दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री एस.जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न सकिनेछ ।

नेपाल विद्युत प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पोरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआईएल) बीच ध्रुवीय उप–ग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

भूकम्पपछिको पुन: निर्माणका लागि भारत सरकारले १० अर्ब अनुदान सहयोग गर्ने घोषण गरेको छ ।

परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

विदेशमन्त्री डा.जयशङ्करले पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुन:निर्माण परियोजनाको उद्घाटन गर्नेछन् ।

विदेशमन्त्री डा.जयशङ्कर बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबिच नेपालले बनाएको म्यानुअल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ। त्यसैगरी काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रुपियाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमति भएको छ ।

Published : Thursday, 2024 January 4, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया