बौद्ध गुरु उपाध्यक्ष डा.लामाद्वारा महायज्ञको उद्घाटन

लुम्बिनी । धार्मिक साम्प्रदायिकता विरोधी आवाजहरू उठिरहेका बेला रुपन्देहीको तिलोत्तमामा भने धार्मिक सद्भावको सन्देश देखिएको छ ।

हिन्दु धर्मसँग सम्बन्धित श्रीमद् भागवत ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती कार्यक्रमको बौद्ध दर्शनका गुरु एवम् लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले उद्घाटन गरेर धार्मिक सद्भावको सन्देश दिएका छन् ।

पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक रहेको महायज्ञमा बौद्ध दर्शनका बारेमा देशविदेशमा प्रवचन दिने लामा प्रमुख अतिथि बनेर धार्मिक सद्भाव र नेपालीहरू एकताबद्ध रहेको सन्देश दिएका हुन् ।

कोटहीमाई मन्दिर प्राङ्गण तिलोत्तमा नगरपालिका वडा नं. १७ पकडीहवामा आयोजित महायज्ञमा विभिन्न हिन्दु धर्मका अगुवाहरूको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष डा.लामाले नेपाल धार्मिक सद्भाव र एकतामा लागि विश्वमै उदाहरणीय रहेको बताएका छन् । उनले ३ करोड नेपाली जनता एकआपसमा मिलेर अगाडि बढेको बताउँदै सबै धर्मका र सम्प्रदायबीच बलियो एकता रहेको बताए ।

डा.लामाले हिन्दु धर्माम्बलम्बीहरू लुम्बिनी र स्वयम्भु सहज रुपमा जाने र बुद्धिष्टहरू पशुपतिमा जाने गरेको बताए । उनले सद्भाव र सहकार्यमा नेपालीहरू एकताबद्ध रहेको बताएका छन् ।

‘हिन्दुहरू सहजरुपमा लुम्बिनी र स्वयम्भु जानुहुन्छ । बुद्धिष्टहरू पनि पशुपतिमा जानुहुन्छ’, डा.लामाले भनेका छन् ।

उनले नेपालको संस्कृति, सद्भाव र परम्परा एकआपसमा जोडिएको बताएका छन् । डा.लामाले बौद्धिष्टको मेडिटेशन र हिन्दुहरूको योग विश्वकै लागि नभई नहुने अंग बनेको बताएका छन् ।

डा.लामाले नेपाल सबै धर्म, जातजाति र सम्प्रदाय मिलेर बसेको मुलुक भएकाले यस्तो खालको सद्भावलाई भत्कन दिन नहुने बताएका छन् ।

उपाध्यक्ष डा.लामाले सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने बताउँदै नेपालीहरूबीचको एकतालाई साझा सम्पत्ति बनाउन सक्नुपर्ने बताएका छन् ।

नेपालीहरूबीच जातजाति र विभिन्न धर्मका मानिसहरूबीच एकतावद्ध रहेको डा.लामाले बताएका छन् । ‘हाम्रो भूमि बुद्धभूमि हो । ३ करोड नेपाली मिलेर बसेको देश हो । यस्तो देश संसारमा कतै छैन’, डा.लामाले भने, ‘त्यसैले हामी सबै मिलेर बस्नुपर्छ ।’

लुम्बिनी, सगरमाथा र पशुपतिलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने उपाध्यक्ष डा.लामाले बताएका छन् ।

नेपाल आर्थिक रुपमा कमजोर भए पनि साँस्कृतिक रुपमा संसारकै धनी देशका रुपमा रहेको उनले बताएका छन् । ‘हाम्रो संस्कार, संस्कृति र प्रकृतिमा धनी छौं’, डा.लामाले भने, ‘हामी सबै मिलेर अगाडि बढौं ।’

उपाध्यक्ष डा.लामाले लुम्बिनी र बुद्धलाई सबै नेपालीहरूले अपनत्व मान्नुपर्ने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी शान्ति र पवित्रस्थल रहेकाले सबै धर्म र सम्प्रदायले अपनत्व गर्नुपर्ने बताएका छन् ।

उनले बुद्धजन्मस्थलको जिल्लामा भएको महायज्ञ आर्थिक संकलनसँगै समाजलाई जोड्ने काम गरेको बताए । डा.लामाले महायज्ञलाई आफ्नो क्षमताअनुसार सहयोग गर्ने बताएका छन् ।

कथावाचक दीनबन्धु पोखरेलले नेपाल सामाजिक रुपमा एकताबद्ध र धार्मिक रुपमा समेत मिलेर बसेको समाज रहेको बताए ।

Published : Thursday, 2024 January 4, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया