उपाध्यक्ष डा.लामाद्वारा जापानी राजदूत युताकालाई लुम्बिनीमा स्वागत

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि जापानी राजदूत किकुता युताकावीच भेटवार्ता भएको छ ।

लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एवम् लुम्बिनी गुरुयोजना लगायतका विषयमा उपाध्यक्ष डा. लामा र राजदूत किकुतावीच छलफल भएको हो ।

उपाध्यक्ष डा.लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।

सन् १९७८ मा जापानिज बास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष डा.लामाले छलफल गरेका छन् ।

भेटमा राजदूत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरूको पवित्रस्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

दोस्रो विश्वयुद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरू शान्ति, अहिंसाको मार्गमा रहेकाले आफूहरूका लागि लुम्बिनी पवित्रस्थल रहेको राजदूतले बताएका छन् ।

भेटमा दुई देशवीचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचार प्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका विषयमा समेत छलफल भएको छ ।

राजदूत किकुतालाई उपाध्यक्ष डा.लामासहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए ।

राजदूतसहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण पनि गरेको छ ।

सोमबार नै जर्मन राजदूताबासका डेपुटी हेड अफ मिसन डा. स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको थियो ।

Published : Thursday, 2024 January 4, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया