शीर्ष बैठकमा एमालेले ‘भिख’ मागेको राष्ट्रियसभाको टिकटमा कुरा मिलेन
काठमाडौं । सत्ता गठबन्धनका बीच राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा छलफल भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभाको निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन् ।
नेता लेखकले शान्ति प्रक्रियाका विषय र राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित रहेर एमालेसँग पनि छलफल भएको बताए । लेखकले भने, ‘विशेष गरेर राष्ट्रियसभाको टिकटका विषयमा केन्द्रित रहेर छलफल भएको छ । एमालेसँग पनि शान्ति प्रक्रियासँग केन्द्रित भएर छलफल भएको छ ।’
एमालेलाई पनि सिट बाँडफाँट गर्ने विषयमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विरोध जनाएका छन् । नेपालको विरोधपछि बैठक निष्कर्षमा पुग्न सकेन । एमालेलाई राष्ट्रियसभा निर्वाचनमा टिकट दिन नहुने पक्षमा नेपालले जबरजस्त अडान राखेका छन् ।
सत्ता गठबन्धनमा भएको छलफलका विषयमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको संयुक्त बैठक बस्नेछ ।
एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक रुपमा पनि रणनीतिक रुपमा पनि गलत छ भनेर अध्यक्ष नेपालले विरोध जनाएका छन् ।
कांग्रेस र माओवादीसँग एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा केही सिटमा भाग खोजेका छन् ।
शीर्ष नेताहरूले कुन–कुन दललाई कति–कति सिट भाग लगाउने भन्ने विषय सार्वजनिक गरेका छैनन् । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले राष्ट्रियसभाको अध्यक्षसहित धेरै सिटमा दाबी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया