परराष्ट्रमन्त्री साउदद्वारा भारतीय विदेशमन्त्री जयशंकरलाई काठमाडौंमा स्वागत

काठमाडौं । भारतीय विदेशमन्त्री एस.जयशंकर नेपाल भ्रमणका लागि काठमाडौं आएका छन् ।

बिहीबार बिहान जयशंकर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् ।

नेपाल–भारत परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर काठमाडौं आइपुगेका छन् ।

जयशंकरलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल पनि पुगेकी थिइन् । नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव र दूतावासका कर्मचारीहरू पनि विमानस्थल पुगेका थिए ।

भारतीय वायु सेवाको विशेष विमानमार्फत आएका जयशंकरले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भेट्ने कार्यक्रम छ ।

दिउँसो १ बजे जयशंकर परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुनेछन् । शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर मध्याह्न स्वदेश फर्किने कार्यक्रम छ ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका बृहत् विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायत विषयमा छलफल गर्ने तयारी छ ।

जयशंकरको भ्रमणका क्रममा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत छ ।

Published : Thursday, 2024 January 4, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया