बाँकेको नौबस्ता बालसुधार गृहमा झडप

नेपालगञ्ज । बाँके जिल्लाको नौबस्तामा रहेको बाल सुधार गृहमा झडप भएको छ ।

क्षेत्रीय कारागारमा सञ्चालित बाल सुधार गृहमा बालबन्दीबीच विवादपछि भएको झडपमा एक जना घाइते भएका छन् । घटनामा एउटा सरकारी गाडीमा तोडफोड पनि भएको छ ।

डुडुवामा रहेको बाल सुधार गृहबाट ल्याइएका १८ वर्ष माथिका बालबन्दीहरुबीच विवाद सुरु भएपछि झडपको आवस्थामा पुगेको हो ।

नौबस्ता बाल सुधार गृहमा एक सय १६ जना बालबन्दी रहेका छन् । आइतबार दिउँसो दुई पक्षका बीचमा भएको झडपमा असिम रावल घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासनको गाडी तोडफोड भएको छ । झडपका क्रममा आधा दर्जन बन्दी भागेको आँकलन गरिएपनि सबै तथ्यांक आएको छैन ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बालबन्दीका बीचमा झडप भएको वरिपरि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको साथै बालबन्दीसँग वार्ताको प्रयास भइरहेको बताएका छन् ।

डुडुवास्थित सुधारगृहमा झगडा गरेका दुई समूहबीच पुनः झगडा सुरु भएको नौबस्ता क्षेत्रीय कारागारका जेलर श्याम रानाले बताए ।

असोज ४ गते राति बाँकेको डुडुवामा बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो । ११ जना घाइते भएका थिए ।

Published : Sunday, 2023 December 31, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया