संविधानअनुसार कानून बनाउन नसक्दा प्रणालीप्रति नै प्रश्न उठ्यो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानले निर्दिष्ट गरेका धेरै सवालहरूमा आवश्यक कानून निर्माण हुन नसकेको जनाएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकपछि आइतबार जारी भएको प्रेस विज्ञप्तिअनुसार कांग्रेसले शासन व्यवस्था र प्रणालीप्रति नै प्रश्न उठाउने प्रयास भइरहेको जनाएको छ ।

‘नेपाली जनताको चाहाना र भावना समेटिएको यो सविधानको प्रभावकारी कार्यान्वयनले नै हाम्रा सामु देखिएका आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक एवं राजनैतिक अन्यौलता हटाउन सक्छ’, कांग्रेसले भनेको छ ।

‘बाह्र बुँदे समझदारी, वृहत शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पु¥याई द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्व गर्न नहुने निष्कर्ष सहित यस प्रक्रियामा संलग्न सबैसँग साझा सहमतिको लागि यो बैठक अपील गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘२०६२–०६३ को ऐतिहासिक संयुक्त जनआन्दोलनले नेपालमा ठूलो राजनैतिक एवं सामाजिक परिवर्तन ल्यायो’, कांग्रेसले भनेको छ, ‘जसको परिणाम स्वरूप २०६३ सालमा अन्तरिम संसद, अन्तरिम संविधान पछि संविधान सभाको निर्वाचन सम्पन्न भयो ।’

कांग्रेसले भनेको छ, ‘पहिलो संविधान सभाले संविधान दिन सकेन । दोस्रो संविधान सभाको निर्वाचनबाट ठूलो पार्टी बनेको नेपाली कांग्रेसको नेतृत्वको सरकारले नै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी ग¥यो ।’

कांग्रेसले भनेको छ, ‘नेपाली जनताको दशकौं देखिको निरङ्कुशताको अन्त्य, लोकतन्त्रको वहाली र स्वतन्त्रता, समानता एवं समावेशीता र न्यायको अभिलाषा यो संविधानले सम्बोधन गरेको छ ।’

Published : Sunday, 2023 December 31, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया