के के भयो कांग्रेसको बैठकमा ? राष्ट्रिय सभाबारे विशेष निर्णय

काठमाडौं । विभिन्न विषयमा छलफल र निष्कर्ष निकाल्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।

पुस १२ गतेदेखि पुस १४ गतेसम्म चलेको बैठकमा सरकारमा सहभागी कांग्रेसका नौ जना मन्त्रीले आफ्ना कार्यसम्पादनबारे जानकारी गराएका छन् । केन्द्रीय सदस्यहरूले पनि आफ्नो धारणा राखेका छन् ।

बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

यसैबीच, कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ ।

कांग्रेसले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर, पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भुगोललाई प्राथमिकता दिने गरी मापदण्ड बनउने निर्णय गरेको छ ।

कांग्रेसले पार्टीको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने भनी यसअघि कार्यसम्पादन समितिले गरेको निर्णय पनि अनुमोदन गरेको छ ।

माघ ७ देखि २२ गतेसम्म समुदायमा कांग्रेस कार्यक्रम सञ्चालन गर्ने, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन खटिने कनेता कार्यकर्तालाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।

कांग्रेसले शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी भएको घटनाको सत्य तथ्य छानबिन गर्न र मृतक परिवारलाई राहत तथा घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ ।

कसको पक्षबाट कमजोरी भएको हो ? सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाइतेहरुको उपचार र परिवारजनमा परेको जुन क्षति छ त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि कांग्रेसले माग गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू सार्वजनिक गर्न र पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन भोलि आइतबार पुस १५ गते आइतबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

शनिबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले धारणा गरेका छन् ।

केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अजुर्ननरसिंह केसी, बलबहादुर केसी, जीपछिरिङ लामा, जीवनबहादुर शाही, पुष्पा भुसाल, शंकर भण्डारी, मीनाक्षी झा, गोविन्द भट्टराई, प्रदीप पौडेल, रमेश लेखक, शिवप्रसाद हुमागाँइ, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, चन्द्रबहादुर केसी, डा. आरजु राणा, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, डा.रणबहादुर रावल, प्रतिमा गौतम, जावेदा खातुन जागा, जानकी सिंह, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, सुशीला ढकाल आचार्य, विद्यादेवी तिमिल्सिना, शान्ति परियार बिक, सीता थपलिया उर्मिला, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, शारदा पौडेलले धारणा राखेका छन् ।

प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र बीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले पनि आ–आफ्नो धारणा राखेका छन् ।

Published : Saturday, 2023 December 30, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया