सुदूरपश्चिम प्राकृतिक स्रोत, संस्कृति तथा भेषभुषामा सम्पन्न : सभापति डा.राणा

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले सुदूरपश्चिम प्राकृतिक स्रोत, संस्कृति तथा भेषभुषामा सम्पन्न भएको बताएकी छिन् ।

सोमबार काठमाडौंमा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा सभापति डा.राणाले सुदूरपश्चिममा भौतिक पूर्वाधारको विकास भइरहेको बताएकी छिन् । उनले भनिन् ‘सुदूरपश्चिम प्रचुर सम्भावना छ । अब लगानीकर्तालाई सुरक्षित महसुस गराउने गरी वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ ।’

नेपाली कांग्रेसकी नेतृ डा.राणाले सुदूरपश्चिमको पर्यटन विकासमा नेपाल पर्यटन बोर्डले पनि पिछडिएको र कम प्रचार भएको क्षेत्रको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएकी छिन् ।

उनले भनिन्, ‘दिगो पर्यटन विकासका लागि समुदायमा आधारित पर्यटन विकासलाई जोड दिनुपर्दछ । यसका लागि हामीले स्थानीय समुदायमा जनचेतना जगाउने र उनीहरूलाई पर्यटन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ भन्ने बुझाउन जरुरी छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिमका पर्यटनमन्त्री रमेश धामी, लगानी बोर्डका सीईओ सुशील भट्ट, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल नदी संरक्षक मेघ आले, युरोपियन युनियन व्यापार तथा लगानी कार्यक्रमको सहकार्यमा भएको कार्यक्रममा बोल्दै ईयूको वरिष्ठ अधिकृत मिम हमाल, पर्यटन व्यवसायी दिनेश भण्डारी, सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन पर्यटन उप–समिति संयोजक अमरबहादुर शाहीको उपस्थिति रहेको थियो ।

होटेल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देश हिक्मतसिंह ऐरी, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानिरु शेर्पा, टानका अध्यक्ष निलहरि बास्तोला, र्‍याफ्टिङ एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारी, नाटाका महासचिव शिवराज पाण्डे, टुटलका सीईओ शिक्षित भट्टलगायतका पर्यटन व्यवसायीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको विकास तथा लगानी सम्मेलनका विषयमा काठमाडौंमा व्यापक छलफल गरिरहेको छ ।

Published : Monday, 2023 December 25, 7:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया