एनसेल काण्डमा प्रधानमन्त्री दाहालसँग राज्य व्यवस्थाले लियो बयान, कारबाही गर्ने धम्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल एनसेलनको सेयर बिक्रीको जानकारी पाउनेवित्तिकै आफू गम्भीर बनेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दाहालले एनसेलन प्रकरण छानविन गर्न समिति बनाएको बताए ।

उनले भने, ‘म कोप सम्मेलनका लागि दुबईमा भएको बेला एनसेल शेयर न्यून मूल्याङ्कन गरी खरिद बिक्रीको कुरा सुने । भोलिपल्टै म नेपाल फर्किएर मुख्यसचिवलाई बोलाएर हाम्रो ऐन कानून अनुसार, हाम्रो कर कानून अनुसार ठीक छ कि छैन भन्ने बारेमा विज्ञप्ति जारी गराएँ ।’

प्रधानमन्त्री दाहालले भने, ‘मैले सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई पनि निर्देशन दिएँ । यसबारे अध्ययनका लागि एक महिनाको समय दिएर टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको छ ।’

‘समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेर काम थालेको छ’, उनले भने ।

‘यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो’, उनले भने, ‘नेपालको कानून विपरीत केहि भएको रहेछ भने हदैसम्मको कारबाही गर्नेछौं ।’

समितिका सभापति रामहरि खतिवडाले एनसेलको सेयर बिक्री प्रकरणमा सदस्यहरूले उठाएका जिज्ञासाको जवाफ दिन समय दिएका थिए ।

एनसेलको सेयर बिक्रीको समाचार बाहिर लिक भएपछि समितिका सभापति खतिवडाले तत्काल बैठक राखेर प्रधानमन्त्री दाहाललाई बोलाएर छलफल गरेका छन् । खतिवडाले एनसेल प्रकरणमा दोषी पाइए कानून अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

Published : Tuesday, 2023 December 19, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया