घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा कारबाही गर्न पाइँदैन भन्छन् : सभापति देउवा

विदुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि दलको बहुमत नआउने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको विदुरमा उद्घाटन गर्दै सभापति देउवाले अहिलेको संविधानले कुनै पनि दललाई चुनावमा बहुमत ल्याउन नदिने बताए । उनले बहुमत नआउने भएका कारण अन्य दलसँग मिलेर चुनावमा गएको बताएका छन् ।

सभापति देउवाले भने, ‘हाम्रो पार्टी गएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, हामीले बहुमत पुर्‍याउन सकेनौं । त्यसैले हामीले कसै न कसैसँग मिल्नुपर्छ । तपाईंहरूलाई थाहा छ, हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ ।’

‘खुट्टा तानातान पनि हाम्रो पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै’, देउवाले भने, ‘त्यसैले हाम्रो पार्टीलाई पनि सुर्धानुछ । घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा फेरि कारबाही गर्न पाइँदैन भन्छन् । के गर्ने ?’

देउवाले आगामी निर्वाचनमा एकल बहुमत नभए फेरि ठूलो पार्टी बनाउने प्रयासका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कांग्रेसको विधान र देशको संविधान दुवैको विषयमा कुरा उठिरहेका कारण आफूले गम्भीरतापूर्वक लिएको सभापति देउवाले बताएका छन् ।

आफ्नै दलभित्रसमेत विविध विचार आइरहेका कारण कांग्रेसले पनि अब सोँचेर अगाडि बढ्नुपर्ने बेला आएको देउवाले बताएका छन् ।

असहमति र असन्तुष्टिलाई छलफल गरेर समाधान गर्नुपर्ने उनले बताएका छन् । सभापति देउवाले राम्रो कामको समर्थन र गलत कामको खबरदारी गर्न नुवाकोटबासीलाई आग्रह गरेका छन् ।

उनले देशमा विविध परिवर्तन गरेको कांग्रेस दलहरूबीच छुट्टै महत्वको भएको बताएका छन् ।

कार्यक्रममा अर्थमन्त्री तथा प्रवक्ता डा.प्रकाशशरण महत, बागमती प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह लामा, नेता शेखर कोइराला, अर्जुन नरसिंह केसी, जिल्ला सभापति रमेश महत लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2023 December 18, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया