प्रदीपलाई नाङ्ग्याउँदै मन्त्रीले खोले कर्तुत, कुनै पनि दिन पद फुत्किने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नङ्ग्याइदिएका छन् ।

आइतबार मन्त्री किराँतीको निजी सचिवालयले नेपाल वायुसेवा निगमका सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूलाई पत्र लेखेर ग्राउण्ड ह्याण्डलिङको सम्बन्धमा कुनै पनि औपचारिक निर्णय नभएको जनाएका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीले नेपाल वायुसेवा निगमबाट ग्राउण्ड ह्याण्डलिङ खोस्ने तयारी गरेका थिए । मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई गतिलो जवाफ दिएका छन् ।

युरोपियन युनियन (ईयू)ले नेपाल नागरिक उड्डयनलाई कालोसूचीमा राखेपछि आत्तिएका महानिर्देशक अधिकारीले आलोचना र कारबाहीबाट बच्न ग्राउण्ड ह्याण्डलिङ खोसेर निजी क्षेत्रलाई दिने तयारी गरेका थिए । महानिर्देशक अधिकारीको योजनामा मन्त्री किराँतीले लात हानिदिएका छन् ।

नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङका सम्बन्धमा औपचारिक रुपमा मन्त्रालयमा कुनै पनि छलफल तथा आधिकारिक निर्णय नभएको मन्त्री किराँतीले जनाएका छन् ।

‘यस विषयमा नेपाल सरकारले निर्णय नगर्दासम्म वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ यथावत रहने विषय अवगत गराउँदै वायुसेवा निगमको समग्र सुधारमा केन्द्रित हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाइ कार्य गर्न निगम सम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूले सञ्चालन गरेका आन्दोलनका साथै सबै गतिविधि रोकी तत्काल काममा फर्किन अनुरोध छ’, पत्रमा भनिएको छ ।

मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई नङ्ग्याउँदा पनि अधिकारीमा कुनै पनि नैतिकता देखिएको छैन । महानिर्देशक पदबाट अधिकारीले राजीनामा दिनु पर्ने हो तर, दिएका छैनन् । लाजश्रम नमानेर पदमा टाँसिएर बसेका छन् । मन्त्री किराँतीले अधिकारीलाई तत्काल महानिर्देशक पदबाट बर्खास्त गर्न प्राधिकरणका कर्मचारीहरूले माग गरेका छन् ।

महानिर्देशक अधिकारीले मन्त्रालयमा छलफल समेत नभएको विषयलाई मिडियाबाजी गरेर नेपाल वायुसेवा निगम डुबाउन षड्यन्त्र गरेका छन् । प्राधिकरणका महानिर्देशक अधिकारीले निगमको कुभलो चिताएको मन्त्री किराँतीको पत्रले जनाएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई अदृष्य रुपमा खुसी बनाएर अधिकारीले आफूभन्दा वरिष्ठ कर्मचारीहरूलाई पछाडि पारेर महानिर्देशक पद हत्याएका थिए ।

महानिर्देशक अधिकारीका प्राधिकरणभित्र निकै ठूला कर्तुतहरू रहेको पीडित कर्मचारीहरूले बताउने गरेका छन् । मन्त्री किराँतीलाई पनि महानिर्देशक अधिकारीको कर्तुतहरूबारे राम्रो जानकारी छ ।

महानिर्देशक अधिकारीका पछिल्ला हर्कतले सीमा नाघ्न थालेका छन् । अधिकारीको पखेटाहरू पलाउन थालेको चर्चा भइरहेका छन् । मन्त्री किराँतीले कुनै पनि दिन अधिकारीलाई महानिर्देशक पदबाट हटाउन सक्ने चर्चा सिंहदरबारमा चल्न थालेको छ ।

Published : Sunday, 2023 December 17, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया