काठमाडौंमा प्रहरीको सीआरभी गाडीहरूमा लोकोमो डिभाइ जडान
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख (एआईजी) दीपक थापालाई लोकोमो डिभाइस हस्तान्तरण गरिएको छ ।
बुधबार रानीपोखरीमा आयोजित कार्यक्रममा एआईजी थापालाई सेन्टिनल प्रयोगशालाका संस्थापक प्रणव बुढाथोकी र लोकोमो डिभाइसका ब्राण्ड एम्बेस्डर सुरसिंह ठकुरीद्वारा सीआरभी पेट्रोल ट्रयाकिङ सिस्टम (सीपीटीएस)का लागि लोकोमो डिभाइस हस्तान्तरण गरेका हुन् ।
कन्ट्रोल रुम भेहिकल (सीआरभी)मा जडित डिभाइसबाट सीआरभी भ्यानको वास्तविक समय र ठाउँ पहिचान गरि विशिष्ट व्यक्तिहरूको सवारीको सुरक्षा, सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धान, विपद उद्दार तथा खोजी कार्य, आकस्मिक उद्धार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परिचालन गर्न सकिन्छ ।
सीआरभी भ्यान र पुलिस कन्ट्रोल रुमको समन्वयमा सहज बनाउन लोकोमो डिभाइसको प्रयोग प्रभावकारी हुनेछ ।
सेन्टिनल प्रयोगशालाका निर्देशक अनिता देवकोटाले लोकोमो डिभाइसको प्राविधिक पाटोबारे चर्चा गरेकी थिइन् ।
डीभाइस हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी थापाले साक्षीले सत्य नबक्न पनि सक्दछ तर, प्रविधिले सत्य नै उजागर गरिराख्ने बताए ।
थापाले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा डीभाइसबाट अपेक्षित लाभ हासिल हुन सक्ने बताए ।
उनले आधुनिक समयमा प्रविधिको प्रयोग गरि घटनाहरू हुने हुँदा प्रहरी कार्यालयको सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता अभियानलाई मूर्तरुप दिन लोकोमो डिभाइस कोसेढुंगा सावित हुने विश्वास लिएको बताए ।
लोकोमो डिभाइसका ब्राण्ड एम्बेस्डर तथा संस्थापक सल्लाहकार ठकुरीले नागरिकहरू बिनावर्दीका प्रहरी हुने भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा आफ्नो संस्थाको तर्फबाट सदैव सहयोग हुने बताए ।
डीआईजी लालमणि आचार्य, प्रहरी प्रयोगशालाका पदाधिकारी, वरिष्ठ प्रहरी अधिकृत लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कम्पनीले आफ्नो उत्पादन लोकोमो डिभाइलाई प्रहरीलाई नि:शुल्क उपलब्ध गराएको छ । डिभाइस गाडी वा मोटरसाइकलमा जडान गर्दा चोरी हुने वा आफ्नो सवारी साधन कुन स्थानमा छ ? भन्ने जानकारी रहन्छ । निजी सवारी साधनहरूले पनि लोकोमो डिभाइस जडान गर्न थालेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया