लुम्बिनीमा पर्यटक ल्याउन आग्रह, डा.लामासँग चीनका उप-मन्त्री वाङद्वारा शिष्टचार भेट

लुम्बिनी । संविधानसभाका सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामासँग चीनका उप–मन्त्री वाङ रुइजुनले शिष्टचार भेटवार्ता गरेका छन् ।

शुक्रबार लुम्बिनीमा डा.लामासँग वाङ नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको हो ।

टोलीमा ग्वाङ्दोङ, प्रान्तीय समितिको स्थायी समितिका सदस्य र ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टी ग्वाङ्दोङ प्रान्तका स्थायी सदस्य वाङ रुइजुन, ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक, गुआङ्दोङ धार्मिक तथा सांस्कृतिक आदानप्रदान संघका अध्यक्ष झाङ वेई रहेका थिए ।

टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन लगायतको विषयमा उपाध्यक्ष डा.लामाले भेट तथा छलफल गरेका छन् ।

लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा चिनियाँसँग छलफल भएको छ ।

उपाध्यक्ष डा.लामाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सहजीकरण एवम् चिनियाँ पर्याटक भित्र्याउन चीनको गोन्जाउ विमानस्थलबाट दैनिक एउटा हवाई उडान सञ्चालन गर्न वाङसँग आग्रह गरेका छन् ।

उपाध्यक्ष डा. लामाले नेपाल एउटा सार्वभौम सम्पन्न देश भएको भन्दै दुई देशबीच धार्मिक सांस्कृतिक एवम् सामाजिक साझेदारी सहितको मित्रवत सम्बन्ध राख्न चाहेको बताएका छन् ।

लुम्बिनी विश्वको एउटा मात्र बुद्धको पवित्र जन्मस्थल भएको भन्दै यो बौद्धमार्गीहरूको साझा सम्पत्ति भएको कारण लुम्बिनीको समग्र विकासको निम्ति सहयोगको आग्रह समेत गरेका छन् ।

लुम्बिनी विकास कोषको तर्फबाट कोषाका कोषाध्यक्ष सिद्धचरण भट्टराई, कोषका कार्यकारी सदस्य श्याम रोक्का, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतको उपस्तिथि रहेको थियो ।

Published : Friday, 2023 December 15, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया