कपिलवस्तुका सिग्देल सेनाको रथीमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका उपरथी अशोकराज सिग्देललाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति शर्माले रथी सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् । सिग्देल मन्त्रिपरिषदको मंसिर २८ गतेको निर्णयबाट रथी पदमा मदोन्नति भएका थिए । सिग्देललाई नेपाली सेनाको भावी प्रधानसेपतिका रुपमा हेरिएको छ ।

विक्रम संवत् २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल विक्रम संवत् २०४३ फागुन ०३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरेका थिए । सिग्देल विक्रम संवत् २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए ।

रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

भारत, ईण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी हुनुका रथी सिग्देलले चीनबाट एनडीसी तालिम सम्पन्न गरेका छन् । रथी सिग्देल युगोस्लाभिया, ताजकिस्तान र लाईवेरियामा शान्ति सेनामा सहभागी भएका छन् ।

कार्यक्रममा प्रधानसेनापति शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोषवल्लभ पौडेललाई पनि पदोन्नति भएको दर्जाको दरज्यानी चिन्ह प्रदान गरेका छन् ।

Published : Friday, 2023 December 15, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया