कांग्रेसद्वारा राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश कार्यसमितिहरूलाई उम्मेदवारको नाम पठाउन भनेको हो ।

२०८० साल माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले नाम माग गर्ने निर्णय गरेको हो ।

‘राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम नेपाली कांग्रेस राजनीतिक दललाई निर्वाचन आयोगमा दर्ता गर्ने पनि भएको छ ।

सो निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।

निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको छ ।

Published : Friday, 2023 December 15, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया