ससुराको कृतिम जडानसहित गगन-शेखरको गुटको भेला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाको कृतिम मेलमिलापसहित गुटको भेला हुन लागेको छ ।

बुधबार दिउँसो १ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा गगन–शेखर समूहको भेला हुन लागेको हो । भेलाका लागि नेताहरू आउने क्रम शुरु भएको छ ।

गगनका ससुरा अर्जुन नरसिंह केसीले गगन र शेखरलाई आफ्नै घरमा डिनरसहितका वार्ता गराएर गुटको भेलाका लागि राजी बनाएका हुन् ।

ससुरालाई प्रयोग गरेर गगनले नेता शेखरलाई झुकाएका छन् । महामन्त्री गगन नेता कोइरालाको निवासमा जान मान्दैनन् । बरु आफ्नो ससुराको घरमा शेखरलाई बोलाएर भेट्छन् । तर, शेखरको घरमा पुगेर गगनले भेट्दैनन् ।

गगनको दवावमा शेखरले मंगलबार बस्ने भनिएको गुटको भेलालाई बुधबारसम्मका लागि सार्न लगाएका थिए ।

भेलामा गगन–शेखर समूहका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी हुनेछन् ।

करिब एक वर्षपछि गगन–शेखर समूहको गुटको बैठक बस्न लागेको छ । गगनले शेखरलाई गुटको नेता मान्न अस्वीकार गरिसकेका छन् । १५औँ महाधिवेशनमा गगनले सभापतिमा उम्मेदवार बन्ने जनाइसकेका छन् । शेखर पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।

शेखरलाई संसदीय दलको नेतामा उम्मेदवार बन्न नदिएर गगनले शेखरलाई हावा खुस्काइसकेका छन् ।

१४औँ महाधिवेशनका बेला गुटको अन्त्यको नारा लगाएर गगन महामन्त्री पदमा निर्वाचित भएका थिए । शेखर सभापतिमा राम्रो मत ल्याएर पराजित भएका थिए ।

अहिले आएर महाधिवेशनमा गरेको प्रतिवद्धतालाई भेलेर गगन–शेखरले गुटको बैठक र भेलाहरू गर्दै आएका छन् । उनीहरूको यो हर्कतले कांग्रेसलाई कमजोर बनाइरहेको आरोप छ ।

Published : Wednesday, 2023 December 13, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया