कांग्रेसबाट राष्ट्रिय सभामा मुस्लिम समुदायलाई प्रतिनिधित्व गराउन सभापति देउवासँग
काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डा. अबुल हुसेन अन्सारीले राष्ट्रिय सभाको निर्वाचनका क्रममा अल्पसंख्यक मुस्लिम समुदायलाई समेट्न पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।
मंगलबार धुम्बाराहीस्थित निवासमा सभापति देउवासँग भेट गरेर डा.अन्सारीले मुस्लिम समुदायलाई राष्ट्रिय सभामा टिकट दिएर स्थान दिन माग गरेका हुन् । डा.अन्सारीले अवसर पाउँदै आएका केही सीमित नेताहरूलाई पुन: टिकट दिएर पार्टीमा योगदान र संघर्ष गरिरहेका मुस्लिम नेताहरूको मानमर्दन नगर्न सुझाव दिएका छन् । उनले भने, ‘सभापतिज्यू तपाई हाम्रो अभिभावक हो । मुस्लिम समुदायमा धेरै नेताहरू छन् । राम्रो र उपयुक्त नेतालाई अवसर दिनु होला भनेर अनुरोध गरेको छु ।’
डा.अन्सारीले भने, ‘कांग्रेसका केही मुस्मिल नेताहरूले आरक्षण र समानुपातिकमा धेरै अवसर पाएका छन् । उनीहरू पुन: राष्ट्रिय सभामा पनि टिकटका लागि दौडधुप र चाडकी गरिरहेका छन् । सभापतिज्यूले त्यस्ता नेताहरूलाई समयमा चिन्नुपर्छ ।’
समानुपातिक, प्रत्यक्ष टिकट पाएका तथा पार्टीको पदाधिकारी र केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई पुन: दोहोर्याउनु हुँदैन भनेर सभापति देउवासँग आग्रह गरेको डा.अन्सारीले बताए ।
कांग्रेसमा मुस्लिम समुदायको नामबाट सबैभन्दा धेरै अवसर लिने नेताहरूमा फर्मुल्लाह मन्सुर, अब्दुल सतार लगायतका नेताहरू पर्छन् । उनीहरूभन्दा निकै सक्षम र योगदान दिएका मुस्मिल नेताहरू कांग्रेसमा प्रसस्त रहेको भन्दै डा.अन्सारीले सभापति देउवाले राष्ट्रिय सभाको टिकट वितरणमा अन्याय नगर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
यसअघिको राष्ट्रिय सभाको निर्वाचनका बेला कांग्रेसको तर्फबाट एक जना पनि मुस्लिम समुदायको नेताले टिकट पाएका थिएनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया