महासचिवको राजीनामा र नियुक्ति सिफारिसमा कांग्रेसले प्रश्न उठायो, एमालेको योजना छताछुल्ल

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय संसद सचिवालयको महासचिव नियुक्तिका लागि भएको सिफारिसप्रति प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सांसद समेत रहेका सभापति खतिवडाले महासचिव पदमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेको सिफारिसप्रति असहमति प्रकट गरेका हुन् । खतिवडाले ट्वीट (एक्स) गर्दै महासचिव पदमा सिफारिस भएका व्यक्तिप्रति भन्दा पनि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले देखाएको गलत प्रवृत्तिको विरोध गरेका छन् । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका निकै भक्त मानिन्छन् । ओलीकै योजना र रणनीतिमा महासचिवको राजीनामा तथा नियुक्तिको खेल भएको छ ।

सभापति खतिवडाले महासचिव भरतराज गौतमले अस्वभाविक रुपमा दिएको राजीनामा र अर्को दिन महासचिव पदमा गरिएको सिफारिसमा एमालेको नियतमाथि प्रश्न उठेको बताएका छन् ।

सभापति खतिवडाले भने, ‘राष्ट्रिय सभामा २० जना माननीयको पदावधि अर्को महिना सकिदै छ । २० मा अध्यक्ष पनि हो ।’

‘तर पदावधि समाप्त हुन लागेको व्याक्तित्वबाट नयाँ नियुक्तिको सिफारिस कति हतार गरेको हो ?’, खतिवडाले प्रश्न गरे, ‘सदनमा महासचिव चाहिन्छ तर, आजै राजीनामा आजै सिफारिस । भलै सिफारिस व्याक्तिको योग्यतामा प्रश्न छैन ।’

राष्ट्रिय सभाको अध्यक्ष तिमिल्सिनासहितका २० जना सांसदको पद एक महिनापछि समाप्त हुँदैछ । राष्ट्रिय सभामा एमालेको पकड गुम्ने पक्का छ । यस्तो अवस्थामा राष्ट्रिय सभाको अध्यक्ष नेपाली कांग्रेसले पाउने सम्भावना निकै छ ।

राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनेवित्तिकै संसद सचिवालयको महासचिवमा आफू अनुकूलको व्यक्ति ल्याउन नसक्ने देखेपछि भरतराज गौतमलाई संवैधानिक निकायमा नियुक्तिको लोभ देखाएर एमालेले राजीनामा गर्न लगाइ एमालेका उपाध्यक्ष विष्णु पौडेल निकटका पदमप्रसाद पाण्डेयलाई महासचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

सभापति खतिवडाले महासचिव गौतमको राजीनामा र पाण्डेयको नाम सिफारिसमा प्रश्न उठाएपछि एमाले डराएको छ । महासचिव नियुक्तिको विषयमा कांग्रेस र माओवादीसहितको गठबन्धन एकातिर तथा एमाले अर्को ध्रुबमा हुने पक्का भएको छ । यो विषय विवादमा पर्ने देखिएको छ ।

Published : Monday, 2023 December 11, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया