कांग्रेसप्रति आक्रमण हुन थालेको छ, पार्टीलाई राम्रोसँग बुझ्नसके प्रतिकार गर्न सकिन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई राम्रोसँग बुझ्नसके मात्र विभिन्न टीकाटिप्पणीको प्रतिकार गर्न सहज हुने बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को लोकार्पण गर्दै देउवाले अहिले कांग्रेसप्रति विभिन्न टीकाटिप्पणीका साथै आक्रमण र आलोचना हुन थालेकाले पार्टीलाई राम्रोसँग बुझ्नसकेमात्र त्यसको प्रतिकार गर्न सकिने बताए ।

उनले कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुमा मुखपत्रहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सभापति देउवाले पार्टीलाई ग्रासरुटमा पुराएर समर्थन पैदा गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।

कांग्रेसका उप–सभापति धनराज गुरुङले मुलुकमा सुशासनको खडेरी परेको भन्दै अबको मिसन सुशासन हुनुपर्ने बताएका छन् । गुरुङले अहिले रोइलो गरेरमात्रै केही नहुने भन्दै पार्टी सुध्रिन जरुरी रहेको बताएका छन् ।

कांग्रेस नेता डा.मीनेन्द्र रिजालले अहिले जनताले सुशासनको चाहना गरिरहेको अवस्थामा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यसैबीच, कांग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुन: प्रकाशन सुरु गरेको छ । त्रैमासिक रुपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अंक सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेस स्थापनाअघि कांग्रेसका दुई धार नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसले ‘युगवाणी’ र ‘नेपाल पुकार’ छुट्टाछुट्टै प्रकाशित गर्दै आएका थिए ।

दुई पार्टीको एकीकरण (२००६ सालमा) मा भएपछि एउटै पत्रिका पार्टीको मुखपत्र बनाउने गरी नेपाल पुकारको प्रकाशन गरिएको थियो ।

युगवाणीको प्रकाशन भने पार्टी एकीकरणपछि रोकियो । साढे पाँच दशक भन्दा बढी मुखपत्रका रुपमा प्रकाशित नेपाल पुकारलाई कांग्रेसले २०५४ सालदेखि बन्द गरेको थियो ।

पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको अगुवाइमा नेपाल पुकार पुन: प्रकाशन थालिएको हो । पुन: प्रकाशित नेपाल पुकारको नयाँ अंकको सामग्रीमा गत २४ भदौदेखि ३ असोजसम्म कांग्रेसले गरेको वीपी साहित्य महोत्सवलाई प्राथमिकतामा राखिएको छ ।

प्रचार विभागले निकालेको पत्रिकामा सम्पादक मण्डलमा गोपाल झा, ईन्द्र रिजाल, लीला दाहाल, दीपेन्द्र वान्तवालगायत छन् ।

Published : Sunday, 2023 December 10, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया