एनसेल काण्डमा राज्य व्यवस्थाले प्रधानमन्त्रीलाई बोलाएर स्पष्टीकरण लिने
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री काण्डबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ गते प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको सभापति रामहरि खतिवडाले बताएका छन् ।
मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो ।
एनसेलको सेयर बिक्रीका विषयमा ठूलो हल्लाखल्ला भएपछि समितिले प्रधानमन्त्री दाहाललाई नै बोलाएर जानकारी माग गर्ने निर्णय गरेको छ ।
एनसेल सुरुदेखिनै विवादमा पर्दै आएको छ । एनसेलको लाभ करदेखि लगानी र अन्य विविध विषयमा विवाद हुँदै आएको छ । एनसेलले सरकारलाई धोका दिनका लागि सेयर बिक्रीका काण्ड बाहिर ल्याएको चर्चा छ ।
यसैबीच, सभापति खतिवडाका अनुसार समितिले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणबारे बुझ्न प्रधानसेनापति प्रभुराम शर्मालाई २७ मंसिरमा बोलाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको निर्माणसम्बन्धी काम नेपाली सेनाले गर्दै आएको छ । प्राविधिक मूल्यांकनमा फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनस् मूल्यांकन गराएर सामेल भएपछि उत्पन्नबारे बुझ्न समितिले प्रधानसेनापतिलाई बोलाएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया