भ्रष्टाचार विरोधी कानून कांग्रेसले बनाएको हो, नेता र मन्त्री बचाउन भनेको होइन : महामन्त्री शर्मा

घोराही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रका विरुद्धमा पनि प्रदर्शन गर्न पाइने बताएका छन् ।

बिहीबार घोराहीमा नेपाली कांग्रेस दाङले आयोजना गरेको कार्यक्रममा शर्माले दुर्गा प्रसाइँलाई जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर व्यवस्थाविरुद्ध बोल्न पाउने अधिकार संविधानले दिएको बताए । उनले बल्खु र तीनकुनेमा भएका प्रदर्शनमा दोहोरो व्यवहार भएको बताएका छन् ।

महामन्त्री शर्माले संघीयता कार्यान्वयनमा केही कठिनाइ रहेको बताए । उनले सीडीओले गृहमन्त्रीले भनेको मान्ने की मुख्यमन्त्रीले भनेको मान्ने भनेर समस्या देखिएको बताएका छन् ।

शर्माले संविधानले दिएको अधिकारलाई प्रदेश सरकारले पाउनुपर्ने बताए ।

प्रवक्ता शर्माले आफू मन्त्रीको दौडमा नरहेको बताएका छन् । उनले मन्त्री मात्र नभइ आफू भविष्यमा प्रधानमन्त्री बन्ने उदेश्य रहेको सभापतिलाई भनेको उल्लेख गरे । शर्माले आफू पहिलो पटक भूगोलबाट जितेर आएको भन्दै मन्त्री पाउनु स्वभाविक भए पनि अहिले सांसद भएर भूमिका खेल्ने बताएका छन् ।

प्रवक्ता शर्माले नक्कली भुटानी शरणार्थी प्रकरण आउँदा कांग्रेस र एमालेका नेताहरू मुछिएको बताउँदै कांग्रेसले नै भ्रष्टाचारीलाई कारबाही गर्नेबारे कानून बनाएको बताए । उनले भने, ‘भ्रष्टाचार विरोधी कानून कांग्रेसले बनाउँछ । भ्रष्टाचारी गर्ने मन्त्री वा कांग्रेसका नेतालाई कारबाही गर्नु हुँदैन भनेर कतै लेखेको छैन ।’

कांग्रेसले जहिले पनि सुशासनमा जोड दिएको उनले बताएका छन् । भ्रष्टाचारीलाई कारबाही हुने शर्माले बताए ।

Published : Thursday, 2023 December 7, 3:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया