आईजीपी कुँवर काठमाडौं आइपुगे, विभिन्न देशमा लुकेर बसेका अपराधीहरू पक्राउबारे गम्भीर छलफल

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१औं महासभामा सहभागी भएर स्वदेश फिर्ता भएका छन् ।

आईजीपी कुँवर बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । आईजीपी कुँवरलाई एआईजी दीपक थापाले स्वागत गरेका छन् ।

अष्ट्रियाको भियनामा इन्टरपोलको ९१औं महासभामा भएको थियो । इन्टरपोल महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म संचालित महासभामा प्रहरी महानिरीक्षक कुँवरसहितका प्रहरीका उच्च अधिकारी सहभागी भएका थिए ।

आईजीपी कुँवरले इन्टरपोलका सदस्यहरूका साथै भारत, चीन र यूएईका प्रतिनिधि लगायतका विभिन्न मित्रराष्ट्रहरूसँग फरार प्रतिवादीहरू र क्षमता अभिवृद्धिका विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक समेत गरेका छन् ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरू पारित भएका छन् ।

महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

Published : Thursday, 2023 December 7, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया