हवाई माफियासँग मिलेर प्रदीपले ४ अर्ब नोक्सान गराउन लागे, कर्मचारीहरू आन्दोलित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अहँकारपूर्ण कदमको विरोधमा नेपाल वायुसेवा निगमका कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।
महानिर्देशक अधिकारीले निगमसँग खोसेर खुला प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङ दिने निर्णय गरेपछि निमगका कर्मचारीहरू प्राधिकरणको हर्कतविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वत: निगमले पाउनुपर्ने माग राख्दै आन्दोलन शुरु गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेका छन् ।
वार्षिक चार अर्ब रुपियाँ आम्दानी हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् ।
उनीहरूले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने चेतावनी दिएका छन् ।
युरोपेली युनियन(ईयू)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधबारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरूले अडिट गर्न आउने प्राधिकरणका कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष तथा निगमका वरिष्ठ अधिकृत रमेशकुमार पाण्डेले प्राधिकरणले ईयूले दिएको प्रतिवेदनका आधारमा नेपाल वायुसेवा निगमको कारण कालोसूचीबाट नहटेको आरोप लगाउँदै ग्राउन्ड ह्यान्डलिङ निगमबाट खोस्ने उद्देश्यले प्राधिकरणका महानिर्देशक अधिकारी गरेको निर्णयविरुद्ध आन्दोलन सुरुआत गरिएको बताए ।
उनले हवाई माफियाहरूको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले नेपाल वायुसेवा निगमले अहिलेसम्म गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्न खोजिएको बताएका छन् ।
उपाध्यक्ष पाण्डेले प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङका विषयमा गरेको निर्णय प्राधिकरण र राष्ट्रको हितमा नभएको बताएका छन् । पाण्डेले महानिर्देशक अधिकारीलाई हवाई माफियासँग मिलेर प्राधिकरण र निगमलाई डुबाउन लागेको आरोप लगाए ।
यसैबीच, निगमले जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीन कम्पनीले आवेदन दिएका छन् ।
निगमले तीनवटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटा कम्पनीको आवेदन परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको आवेदन दिएका छन् ।
निगमले तीन स्लट रुट जहाज खरिदको लागि गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै टेन्डर आह्वान गरेको थियो ।
महानिर्देशक अधिकारीले ग्राउड ह्याण्डेलिङको काम हिमालयन एयरलाईन्सलाई दिन खोजेको आरोप छ । हिमालयन एयरलाईन्समा चिनियाँ लगानी रहेको छ । चीनले नेपालका राम्रा आम्दानी हुने ठाउँलाई ओगटेर राख्न खोजेको छ । पोखरा विमानस्थलमा मिटर व्याजमा ऋण दिएर नेपाललाई ठूलो हानीनोक्सानी गराएको चीनले महानिर्देशक अधिकारीलाई प्रयोग गरेर निगमलाई पनि डुबाउने खेलमा लागेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया