सशस्त्र प्रहरीका ८६ जनालाई हुल तथा दंगा व्यवस्थापनको तालिम

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको हुल तथा दंगा व्यवस्थापन तालिमको स्पेशल टास्क फोर्स (एसटीफए) तालिम सम्पन्न भएको छ ।

बुधबार सशस्त्र प्रहरी बल नेपालको शिक्षालय, लामापाटन, पोखरामा संचालित एसटीएफको तालिम सम्पन्न भएको छ ।

महानिरीक्षक राजु अर्यालले तालिममा प्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरलाई पुरस्कार प्रदान गरेका छन् । अर्यालले सफलतापूर्वक तालिम हासिल गरेका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

अर्यालले लामो तथा अत्यन्तै कठिन एसटीएफ तालिम सफलतापूर्वक सम्पन्न गराउन अहम भूमिका निर्वाह गरेका प्रशिक्षकहरूलाई धन्यवाद दिएका छन् ।

उनले फौजलाई गतिशील र लगनशील बनाउन तालिम अपरिहार्य रहेको बताउँदै तालिमको दौरानमा सिकेका ज्ञान र बगाएको पसिनाले कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै सुरक्षा चुनौतीहरूको सामना गर्न सहयोग पुग्ने बताएका छन् ।

महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई एसटीएफको ट्याक समेत प्रदान गरेका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी बल नेपालमा प्राप्त स्रोतसाधनको अधिकतम् प्रयोग गरी दक्ष जनशक्ति उत्पादन गर्नुकासाथै भविष्यमा आईपर्ने सुरक्षा चुनौतीहरूको सामना गर्न समयसापेक्ष यस्ता तालिम आवश्यक रहेको बताए ।

तालिमका दौरानमा प्रशिक्षार्थीले हासिल गरेका तालिम सम्बन्धि विभिन्न गतिविधिको डेमोस्ट्रेशन गरेका थिए ।

करीव १६ हप्ता अवधिको तालिममा ३ जना सशस्त्र प्रहरी निरीक्षकसहित कुल ८६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली सेना पश्चिम पृतना हेक्वाका पृतनापति उपरथी दीपककुमार बाँनिया, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक कृष्णप्रसाद खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत एवं अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 December 6, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया