एयरपोर्टमा रोकिएन सुन तस्करी, दुई जना पक्राउ, हेटौँडामा चाँदी बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुसहित दुई जनालाई पक्राउ गरेको छ ।

करिब १ सय ८६ ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बालाजु ठेगाना भएका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगितको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।

उता, मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१५ रातोमाटे चेकप्वाईन्टबाट चाँदीजस्तो देखिने धातु करिब ५ केजीसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवनको खैरेनी नगरपालिका–३ बस्ने ३२ वर्षीय राम भट्ट, चितवन भरतपुर महानगरपालिका–२९ बस्ने २७ वर्षीय मीनबहादुर गुरुङ र भारतको महाराष्ट्र खवासपुर बस्ने २४ वर्षीय विजय मारुती रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा पत्थलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा.१२ च ७१४० नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सिटमुनि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त धातुसहित कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 December 6, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया