काठमाडौंमा ५० प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४९औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गरेका छन् ।

उनले तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीलाई निर्देशन दिएका छन् ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत असोज ७ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान ३७ जना गरी कुल ५० जना प्रशिक्षार्थीले तालिम हासिल गरेको बताए ।

Published : Thursday, 2023 November 30, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया