कांग्रेसले अर्थतन्त्र सुधारबारे विज्ञसँग परामर्श गर्ने, दुई मन्त्रीद्वारा ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र सुधारका विषयमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंको धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने विषयमा अर्थविज्ञहरूसँग छलफल गर्ने निर्णय भएको अर्थमन्त्री समेत रहेका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

कांग्रेसले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न आग्रह गरेको हो ।

जाजरकोट भूकम्पबाट पीडितलाई सरकारले अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपियाँ दिने निर्णय गरेको थियो ।

आवासका लागि दिन लागिएको सानो रकमसमेत दुई किस्तामा वितरण गर्दा पीडितहरुलाई सुविधाभन्दा सास्ती हुने भन्दै कांग्रेसले त्यसलाई एकै किस्तामा उपलब्ध गराउन आग्रह गरेको छ ।

उप–सभापति एवम् उप–प्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्का र अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकमा सरकारले गरिरहेका कामबारे जानकारी गराएका छन् ।

त्यसैगरी, कांगेसले संविधान कार्यान्वयनमा विशेष जोड दिएको छ । संघीय गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री डा.महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताए ।

उनले वर्तमान संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रतिगामीले सोचेको भन्दा बलियो रहेको बताए ।

डा.महतले राजनीतिमा धेरै खाले अफ्ठ्यारा आउने र त्यसलाई पन्छाउँदै जानुपर्ने बताए । उनले लोकतान्त्रिक मूल्य र मान्यता र कानूनी शासनलाई संरक्षित गर्दै सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध रहेको बताए ।

डा.महतले भने, ‘अफ्ठ्यारा त देशमा धेरैखाले छन् । त्यो अफ्ठ्यारालाई हामीले पन्छाउँदै हिँडिरहेका छौँ ।’

‘राजनीतिमा त अफ्ठ्यारा आउँछन् । एकदम स्मोथ, सहज बाटो त छैन। अफ्ठ्यारा त आइरहन्छन्’, डा.महतले भने ।

‘त्यसलाई फेरि सल्ट्याउँदै अघि बढ्ने हो । नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता कानुनी शासनमा विश्वास गर्दछ’, डा.महतले भने ।

‘त्यसलाई संरक्षित गर्दै त्यसको सम्पूर्ण रुपमा प्रत्याभूति दिँदै सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध छ’, डा.महतले भने, ‘विभिन्न बहानामा यो धेरै ठूलो मेहनतले आएको स्थापित सिस्टम हो ।’

उनले भने, ‘यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर गर्ने कोशिस विभिन्न कोणबाट, गुटमा प्रकट भएकै छन् ।’

अर्थमन्त्री डा.महतले समस्या परेको ठाउँमा राज्यले हेर्नुपर्ने तर छुट कसैलाई दिन नसकिने बताए । ‘जनताबाट स्थापित यो सिस्टम यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ’, उनले भने ।

‘जसले जानीजानी बेठाउँमा लगानी गर्ने, दुरुपयोग गर्ने र तिर्दिन भन्नेलाई छुट दिन सकिँदैन’, डा.महतले भने, ‘गर्दागर्दै समस्यामा परेका छन् भने त्यसलाई राज्यले हेर्नुपर्छ ।’

Published : Wednesday, 2023 November 29, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया