नेता बालकृष्ण खाणले न्याय पाउनु हुन्छ : सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

मंगलबार भैरहवामा नेपाली कांग्रेस, रुपन्देहीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए । अदालतबाट खाणले न्याय पाउने देउवाले बताएका हुन् ।

सभापति देउवासँग कार्यक्रम हुनुभन्दा अगाडि रुपन्देहीका नेता कार्यकर्ताले केन्द्रीय सदस्य खाणलाई फसाइएको भन्दै पार्टीले कुनै सहयोग नगरेको गुनासो गरे थिए ।

सभापति देउवाले खाण रुपन्देहीको नेता भएको र पटक-पटक जनताले चुनेर पठाएको प्रतिनिधि भएकाले चिन्ता लाग्नु स्वभाविक रहेको बताए ।

आफूलाई खाणले न्याय पाउँछन् भन्नेमा विश्वास रहेको उल्लेख गरेका थिए । ‘अदालतमा बिचाराधीन रहेको मुद्दामा बोल्न हुँदैन तर, पनि खाणले न्याय पाउने अपेक्षा छ’, देउवाले भने ।

सभापति देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधारहरू नभएका कारण पूणर्रुपमा सञ्चालनमा आउन नसकेको बताएका छन् ।

अरुलाई दोष दिएर भन्दा पनि विमानस्थललाई चाहिने कुराहरू नभएको देउवाको भनाई छ ।

‘अध्यागमन र अन्य कार्यालयहरू छैन, ती व्यवस्थापन गर्नुपर्छ’, उनले भने, ‘म काठमाडौंमा गएर सम्बन्धित निकायसँग विमानस्थल पूणर्क्षमतामा संचालनबारे कुरा पर्छ, पहल गर्छु ।’

कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौरले रुपन्देहीमा कांग्रेस बलियो शक्ति भएर पनि कार्यकर्ताहरूका कुरा सुन्नेसम्मको फुर्सद नरहेको बताए ।

उनले पार्टी निर्माणमा ध्यान नदिँदा कमजोर हुँदै गएको जनाएका छन् । राठौरले अर्कालाई दोष दिएर पार्टी नब्बने बताए ।

‘वडादेखि केन्द्रसम्म पार्टी पहिलो भएर पनि जनतालाई डेलिभरी दिन नसक्दा हामी कमजोर हुँदै गएका छौं’, उनले भने ।

सबै हिसाबले कांग्रेस मुलुकको हित गर्ने र इतिहास भएको पार्टी भएको उल्लेख गर्दै सह-महामन्त्री राठौरले एकताबद्ध भएर लागे अझै बलियो बन्ने बताए ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसमा अन्तर्घात बढिरहेको बताए । अन्तर्घातले पार्टीलाई कमजोर बनाएको उनले बताए ।

भण्डारीले ३६५ दिननै पार्टीको झण्डा बोक्नेले चुनावमा अर्कैलाई भोट हाल्ने गरेको जनाउँदै त्यस्ता नेताकार्यकर्ता पार्टीलाई आवश्यक नरहेको बताएका छन् ।

‘कांग्रेसभित्र गुटगत राजनीति चलिरहेको छ र यसले पार्टीलाई घात घरिरहेको छ’, उनले भने, ‘पार्टीभित्रको गुटले कांग्रेसको मर्म बुझ्न, जनताको हित सोँच्न, साथीलाई चिन्न र सम्बन्धलाई बचाउन सकेन ।’

नेता भण्डारीले कांग्रेसभित्र गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार अधिकारबिहीन भएको बताएका छन् ।

चौधरीले संविधानको मर्मअनुसार अधिकार नदिइँदा प्रदेश सरकार पंगु बनेको बताएका छन् ।

साँच्चिकै संघीयता बलियो बनाउने हो भने प्रदेशलाई अधिकार सम्पन्न गराउनु पर्ने मुख्यमन्त्री चौधरीको माग थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य दीपक गिरी, अब्दुल रज्जाक, भरतकुमार शाह, देवेन्द्रराज कँडेल, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन, जिल्ला सभापति रामकृष्ण खाण, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा लगायतले धारणा राखेका थिए ।

उनीहरूले कांग्रेसलाई एकढिक्का बनाएर अघि बढे पार्टी मजबुत बन्ने बताएका छन् ।

Published : Tuesday, 2023 November 28, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया