पूर्वसभापति दाहालको निधन, देउवाद्वारा गहिरो शोक व्यक्त

काठमाडौं । नेपाली कांग्रेस झापाका पूर्व सभापति ८८ वर्षीय पूर्णानन्द शर्मा दाहालको निधन भएको छ ।

झापाको कमल गाउँपालिका वडा नं. ६ मा स्थायी रूपमा बस्दै आएका दाहालको सोमबार साँझ उपचारको क्रममा निधन भएको कांग्रेसले शोक वक्तव्यमार्फत जनाएको छ ।

प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा दाहाल पक्राउ परेर ५ वर्षभन्दा बढी जेलमा बसेका छन् । दाहाल पञ्चायत कालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीमा समेत परेका थिए ।

मुटु तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्ता सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

दाहालको निधन भएकोमा शोक मनाउन नेपाली कांग्रेस झापाले तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

दाहालको निधनप्रति दु:ख व्यक्त गर्दै मङ्गलवार पार्टीको जिल्ला कार्यालय बन्द रहनेछ । तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाहालको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

देउवाले भने, ‘त्याग, समर्पण र निष्ठाका एक अग्रज र प्रेरणादायी व्यक्तित्व एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा पूर्णानन्द शर्माको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुखित बनाएको छ ।’

‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्‍याउनु भएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ’, देउवाले भने ।

‘दाहालप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, सभापति देउवाले भने ।

Published : Tuesday, 2023 November 28, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया