नेपाल टेलिकमका उच्च अधिकृतहरूले गरे ओशो तपोवनमा ध्यान
काठमाडौं । नेपाल टेलिकमका उच्च अधिकृतहरूले ओशो तपोवनमा ध्यान गरेका छन् ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहित निर्देशनालयका नायव प्रबन्ध निर्देशकहरू, प्रबन्धकहरू गरी १५ जना उच्चपदस्थ अधिकृतहरूले ध्यानको माध्यमद्वारा तनाव व्यवस्थापन विषयमा एक दिवसीय कार्यक्रमा सहभागी भएका हुन् ।
कार्यक्रममा सांगठनिक जिम्मेवारीमा उच्च पदमा रहने व्यक्तिहरूलाई पर्ने मानसिक तनाव र त्यसले निम्त्याउने अरु समस्याहरू जस्तै शारीरिक थकान, भावनात्मक असन्तुलन, संज्ञानको क्षमतामा पर्ने प्रतिकुल असरको बारेमा योग, ध्यान तथा आधुनिक स्वास्थ्य विज्ञानले गरेका खोजहरूको बारेमा परिचर्चा गरिएको छ ।
ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आजको युगमा सन्तुलित जीवनका लागि जीवनशैलीको व्यवस्थापन गर्नु नै सबैभन्दा उत्तम उपाय भएको बताएका छन् ।
आजको हतारिएको मनुष्य तनाव र विशादले ग्रस्त छ र त्यसले अनेकौं मनोविकार सृजना गरेको भन्दै उनले प्रत्येक दिन समग्र स्वास्थ्यका लागि उचित व्यायाम, स्वस्थ भोजन, ध्यान, राम्रो परिवेश, इमान्दारिता, आनन्दित जीवनशैलीका उपायहरू अवलम्बन गर्न सुझाव दिए ।
ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले प्रत्येक दिनका लागि व्यावहारिक योगासन, प्राणायाम र ओशोका विविध ध्यान विधिहरू सिकाए ।
एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्ट (स्वामी आनन्द देव)ले जस्तोसुकै अवस्थामा पनि प्रत्येक दिन शान्त र उर्जावान रहनुको विकल्प नरहेको र व्यस्त जीवनमा संसार र अध्यात्म जोड्ने ओशोको ध्यानयुक्त जीवन दर्शनले आफूमा भएको रुपान्तरणको बारेमा बताए ।
नेपाल टेलिकमका प्रबन्धक कृष्णप्रसाद भण्डारीले सो कार्यक्रमले नयाँ उर्जा प्रदान गरेको बताए भने प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठले कार्यक्रम प्रभावकारी भएको प्रतिकृया दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया