नारायणकाजीको दमानमा परेका प्रसाईँको नाम नलिएर समर्थनमा बोले कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन् ।

शुक्रबार मोरङको कटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइने बताएका हुन् । उनले देशमा निरंकुश शासन व्यवस्था नरहेको बताए ।

उनले भने, ‘अहिले देशमा निरङ्कुशतन्त्र नभएकाले लोकतन्त्रविरुद्ध जनताले प्रश्न र प्रदर्शन गर्न पाउँछन् ।’

शर्माले अहिलेको संविधान जनताको सहभागिताबाट बनेका कारण जनताले राखेका असन्तुष्टिहरूलाई सम्बोधन गर्न संविधानमा परिमार्जनसमेत गर्दै लैजानुपर्ने बताएका छन् ।

‘जनताको सहभागितामा बनेको संविधान भएकाले व्यवस्थाकै विरुद्धमा जनता उत्रिएको खण्डमा सडकमा उठेका आवाजलाई सुनेर संविधानलाई परिमार्जन गर्दै लैजानुपर्छ’, उनले भने ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलन र मागका विषयमा विभिन्न खालका टिकाटिप्पणी आइरहेका बेला महामन्त्री शर्माले लोकतन्त्रमा फरक विचार राख्ने व्यक्ति वा समूहलाई पनि अभिव्यक्ति स्वतन्त्रता रहेको बताएका छन् ।

प्रसाईँलाई काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्न शुक्रबार स्थानीय प्रशासनले रोक लगाएको छ । सोही ठाउँमा बिहीबार स्थानीय प्रशासनले एमालेको युवा संघलाई प्रदर्शन गर्न दिएको थियो ।

एमालेको युवा संघ र दुर्गा प्रसाईँका समर्थकप्रति गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान विपरित देखाएको दोहोरो व्यवहारको विरोध भइरहेका बेला कांग्रेसका महामन्त्री शर्माले शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगर्न आग्रह गरेका छन् ।

विवादित गृहमन्त्री श्रेष्ठले दुर्गा प्रसाईँप्रति निकै दमन र कठोर व्यवहार देखाएका छन् ।

Published : Saturday, 2023 November 25, 12:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया