माओवादी नेता मल्लद्वारा ईलाका प्रशासन कार्यालय बागचौरमा अधिकृत पठाउन आग्रह
बागचौर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तिलक मल्ल ‘क्षितिज’ले ईलाका प्रशासन कार्यालय, बागचौर, सल्यानमा प्रशासकीय अधिकृतको माग गरेका छन् ।
नेता मल्लले प्रशासकीय अधिकृत नहुँदा बागचौरबाट सेवा पाउँदै आएका सर्वसाधारणले समस्या भोग्नुपरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रशासकीय अधिकृत छिटोभन्दा छिटो पठाएर सहयोग गर्न गृह मन्त्रालयसँग आग्रह गरेका छन् ।
बागचौरमा ईलाका प्रशासन कार्यालय २०७२ मा स्थापित भएको थियो । लामो समयदेखि प्रशासकीय अधिकृत नहुँदा नागरिकता लगायतका सुविधाबाट सर्वसाधारण बञ्चित भएको नेता मल्लले बताएका छन् ।
बागचौरको ईलाका प्रशासन कार्यालयबाट दार्मा, बागचौर र कुमाख लगायतका पालिकाका सर्वसाधारण सेवा पाउँदै आएका थिए ।
माओवादीका नेता मल्लले प्रशासकीय अधिकृतका लागि आफूले उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अन्य सरोकारवाला निकायमा पहल गर्ने बताएका छन् ।
नेता मल्ल भूकम्प प्रभावित जिल्लामा प्रभावित जनताको सहयोगका लागि खटिएका छन् । काठमाडौं जानेवित्तिकै प्रशासकीय अधिकृत पठाउन पहल गर्ने उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया