नेपाली सेनाभित्र बबालै बबाल, हेडक्वाटरभित्र खैलाबैला
काठमाडौं । नेपाली सेनाभित्र नेतृत्व हत्याउन निकै निच हर्कत हुन थालेपछि चिन्ताको विषय बनेको छ । सेनालाई सर्वसाधारण जनताले निकै विश्वास गर्छन् ।
सेनाको नेतृत्व हत्याउन निकै उथलपुथल गरेका उपरथी ताराध्वज पाण्डेले एकाएक पदबाट राजीनामा दिएपछि सबैको कान ठाडो भएको छ ।
प्रधानसेनापतिको अवकाशपछि वरिष्ठ रथी प्रधानसेनापति बन्ने परम्परा रहेको छ । सेनामा आगामी नेतृत्वका उच्च वरीयताका दुवै उपरथी विवादित बनेपछि नेपाली सेनाको आगामी नेतृत्व कसले पाउने भन्नेमा समस्या देखिएको छ ।
एक महिनादेखि रिक्त रहेको रथीका लागि उपरथी पाण्डेलाई बढुवा सिफारिस गरिएको थियो । पाण्डेको जन्ममिति विवादमा आएपछि उनी आफैंले राजीनामा दिएका छन् ।
पाण्डेपछि वरीयतामा देखिएको उपरथी अशोक सिग्देलको पनि जन्ममितिमा कैफियत देखिएको छ । अहिले नेपाली सेनाले सिग्देलको पनि आन्तरिक छानबिन भइरहेको उच्च स्रोतले जनाएको छ ।
पाण्डेको राजीनामा र सिग्देलविरुद्ध आन्तरिक छानबिन भएपछि तेस्रो वरीयताका उपरथी बढुवा हुनसक्ने प्रबल सम्भावना देखिएको छ ।
सिग्देलले पनि पाण्डेले जस्तै गरेर राजीनामा दिनुपर्ने अवस्था आएको खण्डमा तेस्रो वरीयतामा रहेका उपरथीलाई सेनाको नयाँ नेतृत्व आउनसक्ने देखिएको चर्चा हेडक्वाटरमा छ ।
उपरथी सिग्देलको शैक्षिक प्रमाणपत्रमा जन्म मिति १९ माघ २०२१ रहेको छ । उनको नागरिकतामा १९ माघ २०२३ जन्ममिति रहेको छ ।
वास्तविक जन्ममितिअनुसार उपरथी पदबाट उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ । सिग्देलले आफू चोखिनका लागि विभिन्न राजनीतिक चलखेल गर्न थालेको आरोप छ ।
सिग्देलको चलखेलले गर्दा पछिल्लो समय नेपाली सेनामा पनि राजनीतिक हस्तक्षेप बढ्दै जान थालेको हो कि भन्ने आंकलन गर्न थालिएको छ ।
सिग्देलसँगै रोलक्रममा रहेका अर्का उपरथी निर्मलकुमार थापाको पनि जन्ममितिबारे सेनाले आन्तरिक छानबिन सुरु गरेको स्रोतले जनाएको छ ।
सिग्देलको जन्ममितिमा कैफियत देखिएमा उनीपछि थापा रोलक्रममा रहेकाले संगठनले गर्ने बढुवाको सिफारिस फेरि निरर्थक हुने भयले सेनाले बढुवा सिफारिस गर्नुभन्दा अगाडि नै जन्ममितिसम्बन्धी आशंका निम्ट्याउन खोजेको हुनसक्छ ।
यसअघि बढुवा सिफारिसमा परेका उपरथी पाण्डेले राजीनामा दिएपछि सेनाभित्र अन्य अधिकारीहरूको बारेमा पनि सेनाले सचेतता अपनाउन लागेको हुनसक्ने स्रोतको भनाइ छ ।
सेनामा बढुवाको सिफारिसमा फेरि विवाद नदेखियोस् भन्दै रोलक्रममा रहेका केही सैनिक अधिकारीहरुको आन्तरिक छानबिन गरिरहेको बुझिएको छ ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ गते अवकाश पाउँदैछन् । अवकाश पाउनुभन्दा एक महिना अगाडि नयाँ प्रधान सेनापतिका लागि तयार गर्नुपर्ने हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया