आगलागीबाट १३ करोड ७० लाख रूपियाँ बराबरको क्षति

काठमाडौं । कैलाली जिल्लामा आगलागीबाट करिब १३ करोड ७० लाख रूपियाँ बराबरको धनमाल क्षति भएको छ ।
धनगढी उपमहानगरपालिका–१ स्थित भण्डारी जनरल स्टोरको जुत्ताचप्पल राख्ने गोदाममा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी भएको हो ।
आगलागी फैलिएर नजिकैका अन्य गोदाम तथा अस्पतालमा समेत आगलागी हुँदा करिब १३ करोड ७० लाख रूपियाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो फैलिएर दलबहादुर भण्डारीको उक्त गोदाम, सँगै जोडिएको टेकेन्द्र शर्माको मधुमाला बेवी सपको गोदाम, बासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगतबहादुर बलायरको शुभिक्षादेवी सपिङ सेन्टरको कपडा गोदाम, यसोदा साउदको न्यू सदीक्षा ईन्टरप्राईजेजको गोदाम, गौरी भण्डारीको भण्डारी सु–सेन्टरको गोदाम, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स र सारथी अस्पतालमा गरी धनमाल जलेर क्षति भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया