काण्ड लागेपछि सेनाका उपरथी पाण्डले राजीनामा दिए

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

सैनिक उच्च स्रोतका अनुसार पाण्डेले बिहीबार साँझ प्रधान सेनापति प्रभुराम शर्मालाई राजीनामा बुझाएका हुन् । जन्ममिति विवादमा फस्ने भएपछि पाण्डेले राजीनामा दिएको जनाइएको छ ।

उमेर कम देखाउन नागरिकता लगायत कागजात कीर्ते गरेको आरोपमा जंगी अड्डाले छानबिन सुरु गरेपछि पाण्डेले राजीनामा बुझाएका हुन् ।

रथी बढुवाको बेला पाण्डेले नागरिकता लगायत कागजात कीर्ते गरेको भन्दै जन्ममिति विवाद सतहमा आएको थियो ।

प्रधान सेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्ने तयारी गरेका थिए । बलाध्यक्ष रथी सीताराम खड्काले जन्ममिति विवाद भएको भन्दै बढुवा समितिमा असहमति जनाएका थिए ।

अख्तियारले समेत यो विषयमा चासो राख्दै जन्ममिति विवाद छानबिन गर्न भन्दै निर्देशन दिएको थियो ।

नेपाली सेना भित्रको विषयहरु अख्तियारले हेर्न नमिल्ने भएकाले मुख्यालयलाई नै छानबिन गर्न भन्दै निर्देशन दिइएको थियो ।

छानबिनका क्रममा पाण्डेका २ वटा फरक फरक जन्ममिति भएका नागरिकता भेटिएको थियो । शैक्षिक योग्यताको प्रमाणपत्र समेत केरमेट भएको भेटिएको थियो ।

रथीमा बढुवा भएर प्रधान सेनापति बन्ने लाइनमा रहेका भनिएका उनले जन्ममिति नै कीर्ते गरेको आरोप लागेको थियो ।

Published : Saturday, 2023 November 11, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया