कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माको सुझावले प्रधानमन्त्रीलाई दवाव

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माण गर्नका लागि सरकारले तत्काल प्रतिपरिवार कम्तिमा ४० हजार रुपियाँका दरले सहयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारले तत्काल अस्थायी आवास बनाइदिन सुझाव दिएका छन् ।
उनीहरूले सरकारलाई भूकम्पपीडितको तत्काल राहतको काम व्यवस्थापनका लागि ११ बुँदे सुझाव दिएका छन् ।
जाजरकोटका गाउँमा त्रिपालमा अलपत्र बसिरहेका पीडितलाई अस्थायी आवास निर्माण गर्न सहयोग पुर्याएर फर्किएका उनीहरूले प्रारम्भिक चरणमा नेपाली कांग्रेसले एक हजार अस्थायी आवास निर्माण गरिदिने घोषणा समेत गरेका छन् ।
‘राहत वितरणको जारी क्रमलाई थप व्यवस्थित गर्न जरुरी देखिएको छ’, उनीहरुले भने, ‘नेतृत्व स्थानीय सरकारको, सहकार्य सर्वदलीय संयन्त्रको नीतिलाई हरेक वडा तहसम्म कार्यान्वयन गर्न /गराउन सक्दा राहत र पुनर्स्थापनाको अभियानलाई अझ प्रभावकारी बनाउन सार्थक बल पुग्ने देखिन्छ ।’
उनीहरूले भने, ‘क्रमशः चिसो बढ्दै गएको छ । सुत्केरी, बालबालिका, वृद्धवृद्दा र अपांगता भएका नागरिकलाई चिसोले थप कष्टकर अवस्थामा पु¥याउने देखिन्छ । अत मंसिर मसान्तसम्ममा सबैका लागि अस्थायी आवास निर्माण गरिसक्न युद्धस्तरमा काम अघि बढाउन जरुरी रहेको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौं ।’
उनीहरूले समग्र पुनर्निर्माण कार्य सक्न वर्षदिन या सो भन्दा बढी समय लाग्नसक्ने व्यवहारिक स्थिति रहेको बताएका छन् ।
अस्थायी आवास युद्धस्तरमा निर्माण गर्न सरकारले प्रत्येक प्रभावित परिवारलाई अस्थायी आवास बनाउन अनुदान दिनुपर्ने थापा र शर्माले सुझाव दिएका छन् ।
‘अस्थायी आवास निर्माण गर्न स्वयं सक्षम परिवार बाहेकको हकमा पनि हजारौं स्वयंसेवि परिचालन गर्नुपर्ने देखिन्छ’, सुझावमा भनिएको छ, ‘यसका लागि सरकारले आफ्नो सुरक्षा संयन्त्र परिचालन गर्नुसँगै राजनीतिक दलहरू, तिनका भातृ संगठनहरू एवं विभिन्न संघसंस्थाहरूलाई आह्वान गर्न जरुरी छ ।’
थपा र शर्माले सुझावमा भने, ‘नेपाली कांग्रेस यो अभियानमा पीडित र सरकारको साथमा रहेको र पहिलो चरणमा १ हजार अस्थायी आवास स्वयंसेवि दक्ष जनशक्तिका साथ निर्माणका लागि श्रमदान गर्ने जानकारी गराउँदछौं ।’
राहतदेखि अस्थायी आवास हुँदै पुनर्निर्माणसम्म पुग्दा अर्बौं रुपियाँ खर्च हुने देखिएको भन्दै कांग्रेसले दाताहरूको सहयोग प्रतीक्षा र परिचालनसँगै सांसद विकास कोषझका रूपमा परिचित कार्यक्रमका लागि गत बजेटमा सरकारले छुट्याएको ८ अर्ब रुपियाँसमेत पुननिर्माणमा लगाउन आग्रह गरेको छ ।
कांग्रेसले महामन्त्री थापा र शर्मालाई भूकम्प प्रभावित जिल्लामा पठाएर प्रभावितहरुको राहत तथा पुनर्स्थापनामा समन्वयात्मक भूमिका खेल्न निर्देशन दिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया