तिहार अगाडि आर्थिक सहयोग गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था समिति तथा सुशासन समितिले भूकम्प प्रभावितहरुलाई तिहार अगाडि आर्थिक सहयोग गर्न सरकारलाई निर्देशन दिएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर समितिका सभापति रामहरि खतिवडासहितको टोलीले जाजरकोट, रुकुम पश्चिमलगायत भूकम्प प्रभावित जिल्लाका बारमा गर्नुपर्ने कार्यहरुबारे सुझावसहितको निर्देशन दिएको छ ।
सभापति खतिवडाले राज्यका सबै संयन्त्रलाई प्रयोग गरेर तिहार अगाडि नै मृतकका परिवारलाई कम्तिमा पनि २५ हजार रुपियाँका दरले आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । अहिलेसम्म १२५ परिवारले मात्रै आर्थिक सहयोग पाएको उनले बताएका छन् ।
सरकारले भूकम्प प्रभावित जिल्लामा घरुहरुलाई पूर्णक्षति र आंशिक क्षति भनेर मूल्यांकन गर्न लागेको छ । खतिवडाले पूर्णक्षति र आंशिक क्षतिभन्दा पनि बस्न नमिल्ने र बस्न मिल्ने घरहरुको वर्गीकरण गरेर घोषणा गर्नुपर्ने बताए ।
भूकम्पको राहत वितरण र पुनर्स्थापनाको कार्य दुई जिल्लामा मात्रै केन्द्रित भएको भन्दै खतिवडाले प्रभावित सबै जिल्लाहरुलाई ध्यान दिनुपर्ने बताए ।
खतिवडाले बाजुरा, बझाङ, सल्यान, सुर्खेत, कालीकोट, हुम्ला, बागलुङसम्म भूकम्पको प्रभाव परेको देखिएको बताएका छन् । उनले भूकम्पबाट प्रभावित सबै जिल्लालाई वाच गर्नुपर्ने बताएका छन् ।
‘जाती र पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने सन्देश दिएका छौँ’, सभापति खतिवडाले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा उद्धार, राहत वितरणको कार्य राम्रो भएको छ । उद्धार कोषमा रकम पनि आएको छ । छिटोभन्दा छिटो आर्थिक सहयोग गर्न सरकारलाई समितिको तर्फबाट निर्देशन दिन्छौँ ।’
सभापति खतिवडाले समितिका सबै सदस्यहरु आफैले खर्च गरेर सर्वदलीय टोली भूकम्प प्रभावित जिल्लामा गएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले समितिका सभापति खतिवडासहित टोलीका सदस्यहरुप्रति आभार प्रकट गर्दै सुझावका लागि धन्यावाद दिएका छन् । उनले समितिको सुझाव र निर्देशनलाई कार्यान्वयन गर्ने जनाएका छन् ।
समितिका सभापति खतिवडासहितका सदस्यसँगको भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, समितिका सदस्यहरु दिलेन्द्रप्रसाद बडू, बुद्धिमान तामाङ, कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया