मुगु सामूहिक हत्या प्रकरणमा दुई जना पक्राउ, एकजना नातेदार
काठमाडौं । प्रहरीले मुगु जिल्लामा आमासहित चार जनाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोरखराज शाही र गोपाल बोहोरालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । गोरखराज मृतकका नातेदार पर्छन् ।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो ।
हत्या गरेपछि घरमा ताला लगाएर आरोपी भागेका थिए । घटना भएको पर्सिपल्ट कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका हुन् ।
सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि सुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई वटा टोली अनुसन्धानका लागि खटिएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो ।
प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीबाट डीएसपी धर्मराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो ।
भण्डारीसहितका प्रहरीले सामूहिक हत्या प्रकरणमा दुई जना अभियुक्तलाई पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया