ग्रिनसिटी अस्पतालका अध्यक्ष टण्डनद्वारा क्रिकेट खेलाडी र आश्रमलाई सहयोग

काठमाडौं । समाजसेवी एवं ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आइसिसी ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्न सफल नेपााली क्रिकेटका खेलाडीहरूलाई प्रोत्साहनका लागि एक लाख रुपियाँ हस्तान्तरण गरेका छन् ।

क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्ने र नेपालको गरिमालाई बढाउन आफ्नो सहयोगले थप मद्दत पुर्‍याउने अध्यक्ष टण्डनले बताएका छन् ।

सहयोगप्रति खेलाडीहरूले अध्यक्ष टण्डनलाई विशेष धन्यवाद दिएका छन् । खेलको क्षेत्रमा जति सहयोग हुन्छ त्यति खेलाडीहरूमा उत्साह थपिने र त्यो उत्साहले नेपालकै गरिमा बढाउने टण्डनले बताएका छन् ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष टण्डनले हरिहर मन्दिर सन्यास आश्रम धापासीको पुनर्निर्माण र सुन्दरताका लागि सहयोग गरेका छन् । उनले मन्दिरलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

हरिहर मन्दिर सन्यास आश्रमका प्रधान संरक्षक एवम् देवघाटधामका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई टण्डनले चेक हस्तान्तरण गरेका छन् ।

श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले अहिले देशमा अशान्ति मच्चाउने र शान्ति खल्बल्याउने प्रयत्न भैरहेको बताएका छन् । उनले यो अवस्थामा सबै सचेत हुनुपर्ने भन्दै टण्डन र उनको परिवारप्रति आभार व्यक्त गरेका छन् ।

चेक हस्तान्तरणका अवसरमा हरिहर मन्दिर सन्यास आश्रमका अध्यक्ष एवम् समाजसेवी दीवाकर दाहाल, वरिष्ठ पत्रकार टंक पन्त, अध्यक्ष टण्डनकी पत्नी हेमा टण्डन, द्वारिका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

आश्रमका अध्यक्ष दाहालले आश्रमका लागि टण्डन जस्ता विभिन्न क्षेत्रका दाताहरूको सहयोगले नै काठमाडौंको धापासीमा हरिहर मन्दिर र आश्रमको विकास बढेको बताएका छन् ।
दाताहरूको सहयोग दुरुपयोग हुन नदिने र अहिलेसम्म पूर्ण रुपमा सदुपयोग भैरहेको उनले बताएका छन् ।

अध्यक्ष टण्डनले ग्रिनसिटी अस्पतालमार्फत असहाय र आर्थिकस्थिति कमजोर भएर गम्भीर जोखिमखालका बिरामीको नि:शुल्क उपचार गराउँदै आएका छन् ।

रोटरी क्लब अफ काठमाडौं डाउनटाउनका निवर्तमान अध्यक्ष समेत रहेका टण्डनले क्लबको आफ्नो कार्यकालमा गुल्मीमा बृहत नि:शुल्क स्वास्थ्य शिविर, गम्भीर रोग लागेर उपचार गराउन नपाएका १० जना बढिको नि:शुल्क शल्यक्रिया र करीब ५० लाख बढीको खर्च गरी सहयोग गरेका थिए ।

उनले अहिले त्यस्ताखालका बिरामीको नि:शुल्क उपचारलाई निरन्तरता दिँदै आएका छन् । जति सहयोग गर्न सकियो त्यति आनन्दको अनुभूति हुने गरेको भन्दै अध्यक्ष टण्डनले बिपन्न र आर्थिकस्थिति कमजोर भएर उपचारबाट बञ्चित हुनेहरूलाई कमाएको केही रकम उनीहरूका लागि खर्च गर्दा धर्म हुने तथा उनीहरूको आशीर्वादले त्योभन्दा धेरै सेवा गर्न सकिने बताएका छन् ।

अध्यक्ष टण्डनको नेतृत्वमा संचालित ग्रिनसिटी अस्पतालका फाइनान्स डाइरेक्टर एवंम् समाजसेवी रेनुका गुरुङसहितको संचालक समितिले अति विपन्न आर्थिकस्थिति कमजोर भएका तर, गम्भीर रोग लागेर जीवनवर्वाद हुने अवस्था भएकालाई सहयोग गर्ने नीति अख्तियार गर्दै आएको छ ।

रोटरी क्ललमार्फत समाजसेवाका क्षेत्रमा विशेष सहयोग गर्दै आएका अध्यक्ष टण्डनको सहयोगी भूमिका प्रभावकारी भएको भन्दै रोटरी क्लब डिस्टिकले हालै विशेष सम्मान समेत गरेको थियो ।

Published : Thursday, 2023 November 9, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया