कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई भूकम्प प्रभावित जिल्ला पठायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्र गएका छन् ।
बुधबार बिहान थापा र शर्मा भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमतर्फ स्थान गरेका हुन् ।
कांग्रेसले भूकम्पपछिका अवस्थाबारे अनुगमन र सहजीकरण गर्न कांग्रेसले महामन्त्रीद्वय थापा र शर्माको संयोजकत्वमा समितिसमेत गठन गरेको थियो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वय विशेष गरी सात कार्यमा केन्द्रित रहने उल्लेख गरेका छन् ।
महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न सहयोग गर्नेछन् ।
उनीहरूले उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचारमाध्यममार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने छन् ।
संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरूबीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन, छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्नेछन् ।
उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकूल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने/गराउनेछन् ।
उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनर्स्थापना सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्नेछन् ।
घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर, अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्नेछन् ।
थापा र शर्माले सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया